• २०८३ असार ३२ | Thu, 16 Jul 2026

गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने : अध्यक्ष केसी

गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने : अध्यक्ष केसी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने अवस्थामा पुगेको बताउनुभएको छ।

शनिबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको १२औँ एकता महाधिवेशनमा बोल्दै उहाँले सरकारको नीतिगत कमजोरीका कारण गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रभावकारी नभएको बताउनुभएको हो। सरकारले गैरआवासीय नेपाली नागरिकताको कानुनी अधिकार स्पष्ट गर्ने ऐन नबनाई प्रमाणपत्र वितरण गरेको उहाँको आरोप छ।

उहाँले विदेशी नागरिकता लिएका धेरै नेपालीले विगतमा आफ्नो पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपालमा कामकाज गर्दै आएको बताउनुभयो। तर गैरआवासीय नेपाली नागरिकता लिएपछि पुरानो नागरिकता पनि नहुने र नयाँ नागरिकताले पनि काम नगर्ने स्थिति बनेको उहाँको भनाइ छ।

अध्यक्ष केसीले अब बन्ने सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन छिट्टै ल्याउनुपर्ने बताउनुभयो। उहाँका अनुसार परराष्ट्र मन्त्रालयले सरोकारवालाको सहभागितामा उक्त ऐनको मस्यौदा तयार गरिसकेको छ। सो ऐनलाई आगामी सरकारले १०० दिनभित्र संसदमा पेश गरेर कार्यान्वयनमा ल्याउन उहाँले माग गर्नुभयो।

उहाँले भन्नुभयो, “आजभन्दा दुई वर्षअघि मैले प्रधानमन्त्रीज्यूको हातबाट गैरआवासीय नेपाली नागरिकता लिएको थिएँ। नेपाल सरकारले दिएको त्यो नागरिकताको प्रमाणपत्र आज चल्ने अवस्थामा छैन। यो प्रमाणपत्र चल्ने बनाउन गैरआवासीय नेपाली ऐनमा परिवर्तन गर्नुपर्नेछ। कुनै पनि प्रमाणपत्र दिनुअघि त्यसले दिने अधिकारबारे कानुन बनाइनुपर्थ्यो, तर त्यो नगरी हामीलाई प्रमाणपत्र दिइयो।”

उहाँले जुनसुकै देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकलाई गैरआवासीय नेपाली नागरिकता दिनुपर्ने बताउनुभयो। नेपाली भाषी सबैलाई यस्तो नागरिकता दिएर उनीहरूको लगानी नेपाल भित्र्याउनुपर्ने उहाँको भनाइ छ।

नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई लगानीको सीमा तोकिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। गैरआवासीय नेपालीहरूले रगत र पसिनाले कमाएको पैसा आफ्नो देशमा लगानी गर्न खोज्दा पनि बाटो बन्द गरिएको उहाँको गुनासो छ।

उहाँले गैरआवासीय नेपालीहरूले नेपालमा ल्याउने लगानी फिर्ता लैजानका लागि नभई आफ्ना सन्तान र भावी पुस्ताको नेपालसँगको सम्बन्ध बलियो बनाउनका लागि ल्याउने बताउनुभयो। आफ्ना छोराछोरी नेपाल आउन सकून् भन्ने उद्देश्यले गरिने लगानीमा किन तगारो लगाइन्छ भन्ने प्रश्न उहाँले उठाउनुभयो।

सरकारी प्रक्रियागत ढिलाइका कारण धेरै काम रोकिने गरेको भन्दै उहाँले पाँच वर्षअघि सुरु गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डको काम पनि साना कारणले रोकिएको बताउनुभयो। केसीका अनुसार १५ दिनको अभियानमै उक्त फण्डमा ३७ करोड रुपैयाँ संकलन भएको थियो र एक महिनाभित्र १० अर्ब रुपैयाँ जुट्ने सम्भावना थियो। तर मन्त्रालय धाउँदा–धाउँदै विभिन्न प्रक्रियागत अड्चनका कारण फण्ड हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

उहाँले सरकार र प्रशासनलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो।

यसैबीच, मध्यपूर्वमा पछिल्लो समय बढिरहेको तनावका कारण नेपालीहरू समस्या पर्ने जोखिम बढेको उल्लेख गर्दै उहाँले उनीहरूको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँका अनुसार विदेशमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्नु नेपाल सरकारको दायित्व हो।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ३०, शनिबार १२:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP