काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाे छ । यतिबेला तराईका धेरैजसो भागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली लागेकाे छ।
बागमती र लुम्बिनी प्रदेशका उच्च भागमा पनि आंशिक बादल लागेको देखिए पनि अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
तराईका जिल्लाहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ । देशका हिमाली भागमा दिनभरजसो बादल लाग्ने सङ्केत देखिए पनि तराई क्षेत्रमा भने दिउँसोतिर मौसम सफा रहने अनुमान गरिएको छ।
विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहेकाले पर्वतारोहण र उच्च पहाडी यात्रामा निस्कनेहरूलाई सतर्कता अपनाउन मौसमविद्हरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया