बनेपा। नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको साधारणसभा शनिबार पत्रकारिताको वर्तमान अवस्था, सञ्चारकर्मीहरूको पेशागत चुनौती तथा प्रेस स्वतन्त्रताको विषयमा व्यापक छलफल गर्दै सम्पन्न भएको छ ।
महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष बिनोद कुमार न्यौपाने को सभापतित्व तथा महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, पूर्वपदाधिकारी तथा पत्रकार सम्बद्ध विभिन्न संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले पत्रकारहरूले तथ्यमा आधारित, निष्पक्ष र मर्यादित पत्रकारितालाई आत्मसात गर्नुपर्ने उल्लेख गर्दै बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारितामा थप व्यावसायिकता आवश्यक रहेको धारणा राख्नुभयो ।
त्यसैगरी पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले पत्रकारितामा विश्वसनीयता कायम राख्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषणमा पत्रकारहरू सजग हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारहरूको पेशागत सुरक्षा, श्रम अधिकार तथा सञ्चारमाध्यमको दिगोपनाका लागि महासंघ निरन्तर लागिरहेको उहाँको भनाइ थियो ।
सभामा शाखाका सचिव नगेन्द्र अधिकारीले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदनमा शाखाले वर्षभरि सञ्चालन गरेका पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम, प्रेस स्वतन्त्रता सम्बन्धी गतिविधि, सदस्यता विस्तार तथा पत्रकार हितसँग सम्बन्धित अभियानहरू समेटिएका थिए । त्यस्तै कोषाध्यक्ष केशवराज पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै सभा सहभागीहरूले शाखाको आर्थिक पारदर्शिता र गतिविधिको प्रशंसा गरेका थिए । दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको जनाइएको छ ।
कार्यक्रममा पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै “स्व. भरतराज श्रेष्ठ पत्रकारिता पुरस्कार” बाट अग्रज पत्रकार मधुसुदन गुरागाईं लाई सम्मान गरिएको थियो । उहाँलाई सम्मानपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

यस अवसरमा महासंघ काभ्रेपलाञ्चोकका पूर्वअध्यक्षहरू तथा जिल्लामा क्रियाशील विभिन्न पत्रकार आबद्ध संगठनका अध्यक्षहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले पत्रकारिताको मर्यादा र विश्वसनीयता कायम राख्दै सञ्चारकर्मीहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । साथै स्थानीय पत्रकारहरूको क्षमता विकास, पेशागत सुरक्षा तथा नयाँ पुस्तालाई जिम्मेवार पत्रकारितातर्फ आकर्षित गर्न महासंघले प्रभावकारी भूमिका खेल्नुपर्ने सुझावसमेत दिएका थिए ।
कार्यक्रममा सरकारले निजी संचारमाध्यममा सरकारी विज्ञापन निषेध गरेको विरोधमा पत्रकारहरुले हस्ताक्षर गरेका थिए।
प्रतिक्रिया