काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नगरपालिका-१० बस्ने काभ्रे घर भएकी ४७ वर्षीया कुमारी मगर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर जिल्ला ललितपुर महानगरपालिका-१४ बस्ने बागलुङ घर भएका ३७ वर्षीय खिमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत पाटनको २०७७ फागुन १९ गतेको फैसलाले उक्त मुद्दामा ६ लाख रूपैयाँ जरिवाना र ३ दिन कैद तथा क्षतिपूर्ति २४ हजार रूपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ ताल्छिखेलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
अपराधिक षडयन्त्र तथा अनुचित लेनदेनसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । अपराधिक षडयन्त्र तथा अनुचित लेनदेनसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सिन्धुपाल्चोक घर भएका ५६ वर्षीय गोपाल श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत रूपन्देहीबाट अनुचित लेनदेनसम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिक-२८ बागबजारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देही पठाइएको छ ।
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
बाँके, नेपालगंज उपमहानगरपालिका-१९ सुर्जिगाउँ बस्ने रोशन सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा बैजनाथ गाउँपालिका-१ बस्ने ३४ वर्षीय वीरेन्द्र बुढा क्षेत्री समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ९ सय २० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया