• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

कांग्रेस आधिकारिकता विवाद अन्त्यः गगन नेतृत्वलाई देउवा पक्षले पनि स्वीकार्यो

कांग्रेस आधिकारिकता विवाद अन्त्यः गगन नेतृत्वलाई देउवा पक्षले पनि स्वीकार्यो

काठमाडौँ । नेपाली कांग्रेसभित्र विगत तीन महिनादेखि चल्दै आएको आधिकारिकताको रस्साकस्सी अन्ततः सर्वोच्च अदालतको फैसलासँगै टुंगिएको छ । अदालतले शुक्रबार गगन थापाको नेतृत्वलाई वैधता दिएपछि पूर्वसंस्थापन पक्षले पनि त्यसलाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको हो । थापाको नेतृत्वमा गत पुस अन्तिम साता भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशन वैध नभएको भन्दै देउवापक्षले सर्वाेच्च अदालतमा दायर रिट खारेज भइसकेको छ ।

सर्वोच्चको यस्तो फैसलापछि शनिबार पूर्वउपसभापति पूर्णबहादुर खड्काको निवासमा बसेको इतरसमूहको बैठकले अदालतको आदेशलाई पूर्णरूपमा पालना गर्ने सहमति गरेको छ । बैठकपछि पार्टीका पूर्वप्रवक्ता डा.प्रकाशशरण महतले सर्वाेच्च अदालतको फैसला आफूहरूले स्वीकार्ने बताए । उनले कानुनीरूपमा फैसला आएपनि पार्टीमा राजनीतिका रूपमा समस्या रहेको भन्दै सभापति थापा एकांकी ढंगले चल्न नहुनेमा जोड दिए । १५ औं महाधिवेशन सम्पन्न गर्न साझा संयन्त्र बनाउनुपर्ने र त्यसो हुँदा महाधिवेशनबाट आउने नेतृत्वमा सबैको अपनत्व हुने उनले बताए ।

त्यस्तै, नेता मीन विश्वकर्माले असन्तुष्टिका आधारहरू भए पनि सर्वाेच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र शारंगा सुवेदीको इजलासको फैसला स्वीकार गर्ने कुरा बैठकमा भएको बताए । विश्वकर्माले बैठकपछि कांग्रेसले विधिको शासन, शक्ति पृथकीकरणको आधारमा स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सदैव आत्मसात गर्ने नीति लिइरहेको र त्यही परम्पराबाट हुर्किदै बढ्दै आएकाले अदालतको फैसलामा असन्तुष्टि भए पनि स्वीकार गर्ने निष्कर्ष निकालिएको बताए । अब पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापति थापाको भएको उनकाे भनाइ छ।

सर्वोच्चमा मुद्दा दर्ता गर्दा नै कार्यवाहक सभापतिका रूपमा भनिए पनि फैसलापछि खड्कालाई अब कार्यवाहक नभन्ने पनि उनले जानकारी दिए । उनले अब अदालतले पार्टी सञ्चालनको ‘बल’ गगन थापाको कोर्टमा पुर्याएको भन्दै सबैलाई मिलाएर लैजाने मुख्य जिम्मेवारी पनि थापाकै काँधमा आएको बताए ।

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा पक्षधर सभापति थापासँग असन्तुष्ट थिए । निर्वाचनअघि नै स्वास्थ्योपचारको फलोअपका लागि भनेर सिंगापुर उडेका देउवा फागुन २१ मा मतदानका लागि पनि फर्किएनन् । निर्वाचनको अन्तिम समयमा नेतृत्वमा आएका थापाले देउवा पक्षधरलाई पनि उम्मेदवारीका लागि टिकट दिएका थिए । तर, यसपटक रास्वपाको लहरका बीच पुराना दललाई गाह्रो परेको अवस्था रह्यो । यसैमा कांग्रेस आफ्नै अन्तर कलहले निर्वाचनमा होमिँदा असहयोग भएको हिसाब अझै गरिरहेको छ । देउवा पक्षधरले पनि अब अदालती फैसला मानेर अघि बढ्ने भएपछि सभापति थापालाई संगठन सुदृढीकरणमा सघाउ पुग्ने देखिएको छ ।

सबैलाई समेट्ने गगनको प्रतिबद्धता
यता, आधिकारिकताको कानुनी लडाइ जितेपछि गगन थापाले यसलाई कसैको व्यक्तिगत जित वा हारभन्दा पनि पार्टीको विधि र लोकतान्त्रिक अभ्यासको विजयका रूपमा अर्थ्याएका छन् । सर्वोच्च अदालतको निर्णयले पार्टीलाई एकताबद्ध बनाउँदै सुदृढीकरणको साझा यात्रामा अघि बढ्ने वातावरण तयार गरेको उनको भनाइ छ । थापाले पार्टी सभापतिको हैसियतले सबैलाई समेटेर लैजाने सबैभन्दा ठुलो जिम्मेवारी आफ्नै भएको स्वीकार गर्दै अब सक्रियताका साथ लाग्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेस बैठकले असन्तुष्ट पक्षसँग संवादको जिम्मेवारी सभापति थापालाई दिएको छ । न्युज २४ दैनिकबाट



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ६, आईतवार ००:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP