काठमाडौं । सञ्चालनमा रहेका २० मध्ये अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि निक्षेपको अधिकतम ब्याजदरमा अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । यो महिनाका लागि ६ बैंकले भने ब्याजदर घटाएका छन् ।
सार्वजनिक ब्याजदर अनुसार ६ वटा बैंकले ०.०६ प्रतिशतदेखि १ प्रतिशतसम्म ब्याजदर घटाएका छन् । एनएमबी बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशतबाट ०.२५ प्रतिशत घटाएर ४.५० प्रतिशतमा झारेको छ । संस्थागत निक्षेपको ब्याजदर पनि ४ प्रतिशतबाट ३.५० प्रतिशतमा झारिएको छ । यस्तै, कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.९१ प्रतिशतबाट ३.८५ प्रतिशतमा घटाएको छ भने संस्थागत निक्षेपको दर ३.०१ प्रतिशतमै कायम राखेको छ । ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.५० प्रतिशतबाट ४ प्रतिशतमा र संस्थागत निक्षेपको ब्याजदर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारेको छ ।
यसैगरी, कृषि विकास बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.१५ प्रतिशत नै कायम राखे पनि संस्थागत निक्षेपको ब्याजदर २.७८ प्रतिशतबाट २.७५ प्रतिशतमा घटाएको छ । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदरमा सबैभन्दा बढी कटौती गरेको छ । यो बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.७५ प्रतिशतबाट ४ प्रतिशतमा तथा संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशतबाट ३ प्रतिशतमा झारेको छ ।
यसअनुसार व्यक्तिगततर्फ ०.७५ प्रतिशत र संस्थागततर्फ ब्याजदरमा १ प्रतिशतको कमी आएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगत निक्षेपको ब्याजदर ४.९० प्रतिशतबाट ३.७५ प्रतिशतमा झार्दै १.१५ प्रतिशत बिन्दुको उल्लेखनीय कटौती गरेको छ भने संस्थागत निक्षेपको ब्याजदर ३.५० प्रतिशतबाट ३ प्रतिशतमा घटाएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.७५ प्रतिशतबाट ३.६५ प्रतिशतमा झारेको छ भने संस्थागत निक्षेपको ब्याजदर २.७५ प्रतिशतमै कायम राखेको छ ।
यस्तै, एनआईसी एशिया, एभरेष्ट, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबीआई, प्रभु, प्राइम कमर्सियल, माछापुच्छ्रे, लक्ष्मी सनराइज, सानिमा, सिद्धार्थ तथा हिमालयन बैंकलगायतले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । साउन महिनामा व्यक्तिगत निक्षेपतर्फ सबैभन्दा उच्च अधिकतम ब्याजदर ४.५५ प्रतिशत नबिल बैंक र प्रभु बैंकले कायम राखेका छन् । नेपाल बैंकले ४.२५ प्रतिशत तथा एनआईसी एशिया, प्राइम कमर्सियल, लक्ष्मी सनराइज र हिमालयन बैंकले ४ प्रतिशत अधिकतम ब्याजदर कायम गरेका छन् । संस्थागत निक्षेपतर्फ भने नेपाल बैंकले ४ प्रतिशत अधिकतम ब्याजदर तोकेको छ ।
एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र हिमालयन बैंकले ३.५० प्रतिशत र सानिमा बैंकले ३.३० प्रतिशत ब्याजदर कायम गरेका छन् । बैंकहरूले साउन महिनाका लागि ब्याजदर निर्धारण गर्दा बजारमा पर्याप्त तरलता, कर्जा विस्तारको सुस्त गति तथा बैंकिङ प्रणालीमा निक्षेपको सहज अवस्थालाई ध्यानमा राखेका छन् ।न्यूज २४ दैनिकबाट
प्रतिक्रिया