काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-७ घर भएका ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौं महानगरपालिका-४ बस्ने टोखा नगरपालिका-९ घर भएका ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका-९ बस्ने खोटाङ घर भएका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका-३० बस्ने नवलपरासी पूर्व घर भएका ५३ वर्षीय बासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४७ वर्षीय धनबहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका-८ घर भएकी ३३ वर्षीया नौ माया आलेमगर रहेका छन् ।
पक्राउ मध्ये शैलेन्द्रले सर्विया, स्लोभाकिया लगायतका देश पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, धन बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नौ मायाले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख ४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शैलेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका-९ बाट बिहीबार, सुमना र बासुदेवलाई काठमाडौं महानगरपालिका-४ तथा विकासलाई काठमाडौं महानगरपालिका-७ बाट शुक्रबार, धन बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र नौ मायालाई नवलपरासी पूर्व देवचुली नगरपालिका-८ बाट सोमबार पक्राउ गरेको हो । पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, बासुदेव र धन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौ मायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा खरिबोट बस्ने खडक नगरपालिका-१० घर भएका २४ वर्षीय समिर चौधरी, सोही महानगरपालिका-१० कुपण्डोल घर भएकी ४८ वर्षीया पूजा शर्मा जोशी र काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित कृष्णा डाईमण्ड नामक सुनचाँदी सञ्चालन गरी बस्ने भारत घर भएका ४५ वर्षीय श्रवण कुमार रहेका छन् ।
विभिन्न मितिमा ललितपुर महानगरपालिका-२ सानेपा डेरा गरी बस्ने मिन झा को कोठाबाट करिब १८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल र वविता छिनाल परियारको कोठाबाट करिब १५ लाख ३५ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुनका विभिन्न गरगहना र नगद २२ लाख रूपैयाँसमेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा समिर गरगहना चोरी गर्ने, पूजा चोरीका गरगहना बिक्री गर्ने र श्रवण चोरी गरगहना खरीद तथा गाल्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चाँदी जस्तो देखिने धातुसहित एक जना पक्राउ
भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीबाट करिब १ किलो ५ सय ७७ ग्राम तौलको चाँदी जस्तो देखिने धातुसहित काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ पुलबजार बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१० घर भएका ३२ वर्षीय राजु स्वेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ४३६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी चालक राजुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
ललितपुर, गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय सुरेश महर्जनले संचालन गरेको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेशसमेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ३ सय ८५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया