काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित स्काईहाइट रिसोर्टको माथि सार्वजनिक चौरमा ग्याङ फाइट (समूहगत झडप) गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार जेठ १७ गते बेलुका करिब ७ः३० बजे दुई समूहबीच सार्वजनिक स्थानमा झडप भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगेर झडपमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकामध्ये धुलिखेल नगरपालिका–५ का २५ वर्षीय आयुष रञ्जित, पनौती नगरपालिका–५ का २७ वर्षीय सुदेश राउत, २९ वर्षीय जीवन राउत, धुलिखेल नगरपालिका–५ का २३ वर्षीय विनेश प्रधान, पनौती नगरपालिका–५ का २० वर्षीय अमरराज रोक्का क्षेत्री तथा २२ वर्षीय मन्जित थापा रहेका छन् ।
प्रहरीले उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरी उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक स्थानमा शान्ति सुरक्षा भंग गर्ने तथा कानूनविपरीत गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै यस्ता घटनामा संलग्नमाथि कानूनी कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया