सिन्धुपाल्चोक । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ को प्रभावकारी कार्यान्वयन, स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोकमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, स्तनपानको महत्व, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित प्रचारप्रसार तथा बिक्री–वितरण नियन्त्रणका कानुनी पक्ष र लागूऔषध दुर्व्यसन नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईँले आमाको दूध नवजात शिशुको लागि सबैभन्दा सुरक्षित, पोषणयुक्त र जीवनरक्षक आहार भएको बताउनुभयो । उहाँले शिशु जन्मिएको एक घण्टाभित्रै स्तनपान सुरु गर्नुपर्ने तथा कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सिफारिस रहेको जानकारी दिनुभयो । आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै कुपोषण, संक्रमण तथा विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
उहाँले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ लामो समयअघि बने पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अब ऐन कार्यान्वयनलाई व्यवहारिकरूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । ऐनबारे पर्याप्त जानकारी नहुँदा स्वास्थ्य क्षेत्र र व्यवसायिक क्षेत्रबाट समेत अनजानमै कानुन विपरीत गतिविधि हुने गरेको भन्दै सबै सरोकारवाला पक्षलाई सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) जिसी शाहले लागूऔषध दुर्व्यसन वर्तमान समाजको गम्भीर चुनौतीका रूपमा रहेको बताउनुभयो । उहाँले गाँजा, चरेस, अफिम, विभिन्न प्रकारका क्याप्सुल तथा अन्य लागू पदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा गम्भीर असर पार्ने भएकाले यसविरुद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले आमाको दूधको महत्वबारे घरघरमा जनचेतना फैलाउनुपर्ने, शिशुलाई स्वस्थ जीवनको आधार दिन स्तनपानलाई प्राथमिकता दिनुपर्ने तथा लागूऔषध दुर्व्यसनविरुद्ध समाजका सबै तह र तप्काले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले कानुनी व्यवस्था, स्वास्थ्य शिक्षा र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अगाडि बढाउन सके मात्र स्वस्थ, सचेत र समुन्नत समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया