मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा दूधको गुणस्तर सुधार तथा सुरक्षित उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले नगरका प्रमुख दुग्ध उत्पादक सहकारी संस्थाका प्रतिनिधि एवं कृषकहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगरका प्रमुख दूध उत्पादक सहकारी संस्थाका प्रतिनिधि तथा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूलाई दूध उत्पादन, संकलन र बजारीकरणका क्रममा गुणस्तर कायम राख्नुपर्ने विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल तथा प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतले दूध उत्पादनमा किसानहरूले गरिरहेको मिहिनेतको प्रशंसा गर्दै गुणस्तरीय दूध उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले गुणस्तरीय दूध उत्पादन भएमा किसानले उचित मूल्य प्राप्त गर्नुका साथै उपभोक्ताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
मण्डनदेउपुर नगरपालिका जिल्लामै दूध उत्पादनका हिसाबले अग्रस्थानमा रहेको छ। नगरका करिब १५ हजार किसान प्रत्यक्ष रूपमा दुग्ध उत्पादन व्यवसायमा संलग्न रहेको जनाइएको छ ।
कार्यक्रमले दूधको गुणस्तर अभिवृद्धि गर्दै कृषकको आय वृद्धि र दुग्ध क्षेत्रको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया