रोशी । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मंगलटार क्षेत्रमा विक्षिप्त तथा वेवारिसे अवस्थामा रहेका एक पुरुषको प्रहरीले उद्धार गरेको छ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलटारस्थित क्षेत्रमा नाम, थर तथा ठेगाना खुल्न नसकेका ती व्यक्तिलाई साेमबार उद्धार गरी आवश्यक संरक्षणको व्यवस्था गरेको हो । उद्धारपश्चात् रोशी गाउँपालिकासँग समन्वय गरी ती व्यक्तिलाई सुरक्षित आश्रयका लागि धुलिखेलस्थित मानव कल्याण समाज (सेवा घर) मा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सहाराविहीन तथा वेवारिसे व्यक्तिहरूको संरक्षणमा सक्रिय भूमिका खेल्दै आएको मानव कल्याण समाजप्रति आभार व्यक्त गरेको छ । समाजले विभिन्न कारणले परिवार तथा समुदायबाट टाढिएका, मानसिकरूपमा अस्वस्थ तथा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरूलाई आश्रय, संरक्षण र हेरचाह प्रदान गर्दै आएको छ ।
स्थानीय तह, प्रहरी प्रशासन र सामाजिक संस्थाबीचको समन्वयले मानवतावादी कार्यलाई थप प्रभावकारी बनाएको भन्दै नागरिकहरूलाई पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यस्ता व्यक्तिहरूको संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया