दिनेश दुलाल
चौतारा । सिन्धुपाल्चाेककाे चौतारा साँगाचोकगढी नगरपालिकाले आमाबाबुविहीन तथा संरक्षणको आवश्यकता रहेका बालबालिकाका लागि सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले बालग्राम भवन निर्माणलाई तीव्रता दिएको छ । भवन निर्माण सम्पन्न भएपछि नगरभित्रका संरक्षण आवश्यक भएका बालबालिकालाई व्यवस्थित आवास र आवश्यक सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
नगरपालिकाका अनुसार ‘बालग्राम भवन निर्माण योजना’को लागत अनुमान २ करोड १७ लाख ८२ हजार २७२ रुपैयाँ रहेको छ । निर्माण कम्पनीसँग १ करोड ६५ लाख ४३ हजार ५०४ रुपैयाँमा सम्झौता गरिएको हो, जुन लागत अनुमानभन्दा करिब २४ प्रतिशत कम हो ।
योजनाअन्तर्गत बालग्राम भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनमा आवासीय कक्ष, अध्ययनका लागि आवश्यक कोठा, प्रशासनिक कक्ष तथा बालबालिकाको दैनिक जीवन सहज हुने अन्य आवश्यक पूर्वाधार निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार परिवारको संरक्षणबाट वञ्चित भएका बालबालिकालाई सुरक्षित वातावरण उपलब्ध गराउनु स्थानीय सरकारको सामाजिक दायित्व हो। सोही उद्देश्यअनुसार दीर्घकालीनरूपमा सञ्चालन गर्न मिल्ने आधुनिक भवन निर्माण भइरहेको छ ।
स्थानीय तहमा यस्ता संरचना अभाव हुँदा संरक्षण आवश्यक भएका बालबालिकालाई अन्यत्र आश्रय खोज्नुपर्ने अवस्था रहेको थियो । बालग्राम सञ्चालनमा आएपछि नगरभित्रै संरक्षण, शिक्षा, स्वास्थ्य तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ । निर्माण कार्य गुणस्तरीयरूपमा अघि बढिरहेको नगरपालिकाले जनाएको छ । भवन सम्पन्न भएपछि सम्बन्धित निकायसँगको समन्वयमा बालग्राम सञ्चालनको प्रक्रिया अघि बढाइने योजना छ ।
नगरपालिकाले सामाजिक सुरक्षा, बालअधिकार र मानव विकासलाई प्राथमिकतामा राख्दै यस्तो पूर्वाधार निर्माण गरेको जनाएको छ । बालग्राम सञ्चालनमा आएपछि संरक्षण आवश्यक भएका बालबालिकाको भविष्य सुरक्षित बनाउन महत्त्वपूर्ण आधार तयार हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया