मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको आयोजनामा शैक्षिक सत्र २०८२ को वार्षिक विद्यालय तहको परीक्षाको नतिजाका आधारमा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान तथा बधाई कार्यक्रम साेमबार सम्पन्न भएको छ ।
नगरप्रमुख टोकबहादुर वाइवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगरभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक, वडाध्यक्ष तथा नगरपालिकाका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने विद्यालय, उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। नगरपालिकाले उत्कृष्ट कार्य गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
सम्मानित विद्यार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै मण्डनदेउपुर नगरपालिका–१२, ज्याम्दीस्थित इन्द्रावती माध्यमिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई नगरप्रथम भएकी रितिका पराजुलीले आफूलाई सम्मान गर्ने नगरपालिकाप्रति आभार व्यक्त गर्दै यस सम्मानले आगामी अध्ययनमा थप प्रेरणा मिलेको बताइन् ।

कार्यक्रममा वक्ताहरूले गुणस्तरीय शिक्षाको विकास, विद्यार्थीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा शिक्षकको मनोबल उच्च बनाउन यस्ता सम्मान कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया