चाैतारा । सिन्धुपाल्चोक जिल्लालाई सबै प्रकारका नियमित खोपको पहुँच सुनिश्चित गर्दै पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । नियमित खोप पाउनुपर्ने जिल्लाका सबै बालबालिकाले १४ प्रकारका नियमित खोप प्राप्त गरेपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कर्यालयका प्रमुख दुर्गा बजगाईंले बताउनुभयाे ।
जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका १०३ वडामा रहेका १५१ स्वास्थ्य संस्था तथा ७११ जना महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालनबाट खोप अभियान सफल भएको जानकारी दिइयाे । कार्यक्रममा जिल्लाभरका खोप पाउनुपर्ने लक्षित समूहले आवश्यक सबै खोप प्राप्त गरेको तथा १६ देखि २३ महिनाका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप पूरा गरेको घोषणा गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पूर्णखोप सुनिश्चित गर्नु स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धि भएको उल्लेख गर्दै यस उपलब्धिलाई दीगो बनाइराख्न स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयाे । उपप्रमुख पदमनाथ नेपालले नियमित खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा र स्वस्थ भविष्यको आधार भएकाले यसको निरन्तरता र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभएकाे थियाे ।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले स्थानीय तहले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गरिएको बताउनुभयाे । यस्तै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले पूर्ण खोप सुनिश्चित अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयाे ।
विश्व स्वास्थ्य संगठनका डा. रुपेश तिमिल्सिनाले नियमित खोपले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने भएकाले खोपको निरन्तरता, निगरानी र अभिलेखीकरणलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयाे । साथै बागमती प्रदेशद्वारा प्रदान गर्ने पूर्ण खाेप सुनिश्चितताकाे प्रमाण–पत्रसमेत जिल्ला खाेप समन्वय समितिलाई हस्तान्तरण गरिएकाे थियाे ।
प्रतिक्रिया