• २०८३ असार ३० | Tue, 14 Jul 2026

बाह्रबिसेमा स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया

बाह्रबिसेमा स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी  सरोकारवालाबीच अन्तरक्रिया

सिन्धुपाल्चोक । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ को प्रभावकारी कार्यान्वयन, स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार बाह्रविसेमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वय /सहकार्यमा भएको कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, स्तनपानको महत्व, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित प्रचारप्रसार तथा बिक्री–वितरण नियन्त्रणका कानुनी पक्ष र लागूऔषध दुर्व्यसन नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख श्रेष्ठले स्तनपानको महत्त्व सबैले बुझ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले व्यवसायीलाई आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण गर्दा ध्यान दिन आग्रह गर्नुभयो ।

सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता भगवतीदेवी गौतमले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ बारे जानकारी गराउनुभयो । त्यस्तै कार्यक्रममा बक्ताहरुले लागू पदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा नकारात्मक असर पार्ने भएकाले यसको न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए ।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले आमाको दूध नवजात शिशुको लागि सबैभन्दा सुरक्षित, पोषणयुक्त र जीवनरक्षक आहार भएको बताउँदै शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने तथा कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सिफारिस रहेको जानकारी दिनुभयो ।

उहाँले आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै कुपोषण, संक्रमण र अन्य स्वास्थ्य समस्याबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । साथै, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ लामो समयअघि बने पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै सबै सरोकारवाला पक्षलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरूले आमाको दूधको महत्वबारे समुदायस्तरसम्म जनचेतना फैलाउनुपर्ने, शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनुपर्ने तथा लागूऔषध दुर्व्यसनविरुद्ध समाजका सबै तह र तप्काले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा , जनप्रतिनिधि , कर्मचारी , उद्योग बाणिज्य संघका प्रतिनिधि , सुरक्षाकर्मी, जनस्वास्थ्य कार्यालय लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत साहारा सापकोटाले जानकारी दिनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १२, शुक्रबार ०६:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP