काठमाडौं। हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज आउन करिब २ महिना बाँकी रहँदा गत बर्षहरु जस्तै यसपाली पनि नेपाली साङ्गीतिक बजारमा भने तीजका गीतहरुको रौनक अहिल्यैदेखि सुरु भइसकेको छ ।
तीजका गीतहरुको रेकर्डदेखि म्युजिक भिडियो निर्माणसँगै गीतका अडियो भिडियोहरुको सार्वजनिक गर्ने क्रम सुरु भइसकेको छ । यसै क्रममा लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको तीज गीत ‘केटी पार्टी’ को मंगलबार एक कार्यक्रमबीच साहित्यकार शान्ति शर्माको प्रमुख आतिथ्यतामा कोटेश्वर स्थित होटेल तपोवनमा सार्वजनिक गरियो । मनिष श्रेष्ठको शब्द, संगीत रहेको गीतलाई आकाश नेपालीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
उमेर कहिल्यै बाधक हुँदैन, इच्छा र आत्मविश्वास भए जुनसुकै उमेरमा पनि नाच्न, रमाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ” भन्ने बलियो र सकारात्मक सन्देश बोकेको तीज गीत ‘केटी पार्टी’ को म्युजिक भिडियोमा बिमला भण्डारी, सरिता थापा, कोइली थापा, शारदा श्रेष्ठ र नूतन अधिकारीको नृत्य एवं अभिनय रहेको छ ।
पवन सुस्लिङको छायांकन ,एवं सम्पादन रहेको भिडियोको कोरियोग्राफी एवं निर्देशन सफल भिडियो निर्देशक कलाकार मनिष श्रेष्ठले गरेका हुन् । भिडियोलाई मनिष श्रेष्ठको अफिसियल युट्युब च्यानल ( Manish Shrestha )मार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा अभिनय गरेका बिमला भण्डारी, कोइली थापा, सरिता थापा, नूतन अधिकारी र शारदा श्रेष्ठले सामाजिक सेवामा सक्रिय रहँदै विभिन्न संघ–संस्थामार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । उनीहरूले यसपटक रहर र उत्साहका साथ तीज गीत निर्माण गरेको र आगामी वर्षहरूमा पनि यही टोलीबाट निरन्तर नयाँ तीज गीत ल्याउने तयारी रहेको जानकारी दिए ।
प्रतिक्रिया