• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

हेलम्बु हिमालयन ग्रेट ट्रेल : प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनको नयाँ सम्भावना

हेलम्बु हिमालयन ग्रेट ट्रेल : प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनको नयाँ सम्भावना

ज्ञानमणि नेपाल कालोटोपी
सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकामा निर्माणाधीन हेलम्बु हिमालयन ग्रेट ट्रेल (षडाक्षरी धर्मचक्र पर्खाल) नेपालकै उत्कृष्ट पर्यटन गन्तव्यहरूमध्ये एक बन्ने सम्भावना बोकेको महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ । काठमाडौंबाट छोटो दूरीमै पुग्न सकिने यस ट्रेलबाट मनमोहक हिमाली दृश्यहरूको अवलोकन गर्न सकिन्छ । अनुकूल मौसममा नेपालका करिब ८० प्रतिशत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने विश्वास गरिएको छ । आकर्षक सूर्योदय, सूर्यास्त, हरियाली पहाड र हिमालको अनुपम सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

प्राकृतिक सौन्दर्यसँगै यस ट्रेलले हेलम्बु क्षेत्रका प्राचीन गुम्बा, स्तूप, ध्यानस्थल तथा अन्य धार्मिक एवं सांस्कृतिक सम्पदासम्म सहज पहुँच प्रदान गर्नेछ । यसले पदयात्रा मात्र नभई आध्यात्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने विशिष्ट गन्तव्यका रूपमा विकास हुने विश्वास गरिएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार उचित योजना, आवश्यक पूर्वाधार निर्माण तथा प्रभावकारी प्रवर्द्धन गर्न सकिए हेलम्बु हिमालयन ग्रेट ट्रेल भविष्यमा नेपालको प्रमुख पर्वतीय पर्यटन गन्तव्यका रूपमा स्थापित हुने बलियो सम्भावना रहेको छ । अध्यक्ष शेर्पाले यो परियोजनालाई आफ्नो जीवनको महत्वपूर्ण सपना र दीर्घकालीन परिकल्पना भएको बताएका छन् । उनका अनुसार गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेपछि आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा पहिलो पटक ५० हजार रुपैयाँ बजेट विनियोजन गरी परियोजनाको निर्माण कार्य सुरु गरिएको थियो । हाल केही संरचना निर्माण सम्पन्न भए पनि परियोजना अझै पूर्ण हुन बाँकी रहेको उनले बताए ।

उनले परियोजना सम्पन्न भएपछि हेलम्बु नेपालकै प्रमुख पर्वतीय, प्राकृतिक तथा आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् । काठमाडौंबाट सहज पहुँच, अनुपम हिमाली दृश्य, समृद्ध ह्योल्मो संस्कृति, पवित्र गुम्बा तथा धार्मिक स्थलहरूको संगमले हेलम्बुलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उनको भनाइ छ ।

अध्यक्ष शेर्पाका अनुसार परियोजनाको मुख्य उद्देश्य हेलम्बुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको दीर्घकालीन र समग्र विकासमा योगदान पुर्‍याउनु हो । ह्योल्मो समुदायको धार्मिक परम्पराअनुसार तार्केघ्याङका सूर्यसिंगीका छोराले ह्योल्मो क्षेत्रको वरिपरि गाउँलेहरूको सहयोगमा षडाक्षरी धर्मचक्र पर्खाल स्थापना गर्नुपर्ने उल्लेख धार्मिक ग्रन्थहरूमा रहेको विश्वास गरिन्छ । यही आध्यात्मिक प्रेरणाले पनि परियोजनाको अवधारणालाई थप अर्थपूर्ण बनाएको उनले बताए ।

पदावधि समाप्त भए पनि परियोजनालाई पूर्णता दिन आफू सधैं प्रतिबद्ध रहने अध्यक्ष शेर्पाको भनाइ छ । “पदभन्दा माथि मेरो सपना र हेलम्बुप्रतिको उत्तरदायित्व रहेको छ । यो परियोजना सम्पन्न हुने दिन मेरो जीवनको एउटा महत्वपूर्ण उपलब्धि हुनेछ ।,” उनले भने ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १७, आईतवार २१:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP