ज्ञानमणि नेपाल कालाेटाेपी
बनेपा । काभ्रेपलाञ्चोकमा ग्यासको अभाव भएको जनगुनासो बढेपछि जिल्ला सुरक्षा समितिले जिल्लामा सञ्चालनमा रहेका ग्यास उद्योगहरूको छड्के अनुगमन गरेको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलगायत सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले सोमबार जिल्लाका विभिन्न ग्यास उद्योगको अनुगमन गरेको हो ।
टोलीले काभ्रेमा रहेका सगर, सूर्य, लोकप्रिय र हिमाल ग्यास उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगहरूबाट नियमित रूपमा ग्यास बजारमा पठाइरहेको पाइएको प्रशासनले जनाएको छ । तर सगरबाहेकका अन्य ग्यास उद्याेगमा भने पछिल्लो समय भारतबाट ग्यासको आयात केही कम भइरहेको पाइएकाे छ । यद्यपि, पछिल्लो केही सातादेखि बजारमा ग्यास सहज रूपमा नपाएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आइरहेको छ । ग्यासको आपूर्ति नियमित रहे पनि बजारमा उपभोक्ताले अभाव महसुस गर्नुको कारणबारे प्रशासनले थप निगरानी र अध्ययन आवश्यक रहेको जनाएको छ । उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने विषयमा उद्योग तथा वितरकहरूलाई आवश्यक निर्देशनसमेत दिइएको छ ।
बजार अनुगमनमा पनि तीव्रता
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्ला केही सातायता जिल्लाका विभिन्न मुख्य बजार तथा व्यापारिक क्षेत्रमा अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनले भकुण्डेबेँसी, दोलालघाट, धुलिखेल, बनेपालगायतका बजार क्षेत्रमा रहेका होटल, किराना पसल, फलफूल पसल तथा खाद्यान्न स्टोरहरूको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही नाम चलेका होटल तथा पसलहरूले समेत खाद्य वस्तुको गुणस्तर र म्यादबारे पर्याप्त ध्यान नदिएको पाइएको प्रशासनले जनाएको छ । केही पसलमा म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखिएको भेटिएपछि त्यस्ता सामग्री जफत गरी नष्ट गरिएको छ । त्यस्तै, व्यवसायीहरूलाई खाद्य वस्तुको गुणस्तर कायम गर्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न तथा उपभोक्ताको स्वास्थ्य र अधिकारप्रति संवेदनशील बन्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा नियमविपरीत सञ्चालन भएका केही व्यवसायीमाथि कारबाहीसमेत गरिएको प्रशासनले जनाएको छ ।
लागूऔषध पुनःस्थापना केन्द्रको पनि अनुगमन
सोमबार नै सहायक प्रजिअ लीलाकुमारी केसी पाण्डेको नेतृत्वमा नायब प्रहरी उपरीक्षक रबिन बिष्ट र प्रशासकीय अधिकृत सुनिता थापा सम्मिलित टोलीले लागू पदार्थ दुर्ब्यसनमा फसेकाहरुलाई राखिएका केही सुधार केन्द्रको अनुगमन गरेकाे छ । प्रशासनले लागूऔषध पुनःस्थापना केन्द्रहरूको सञ्चालन अवस्थाबारे पनि अनुगमनलाई निरन्तरता दिएको हाे । सोमबार पुनःस्थापना केन्द्रको अनुगमनका क्रममा नेपाल सरकारबाट जारी सञ्चालन निर्देशिकाअनुसार केन्द्र सञ्चालन भए–नभएको विषयमा निरीक्षण गरिएको थियो । अनुगमन टोलीले केन्द्रमा उपचाररत व्यक्तिहरूसँग अन्तरक्रियासमेत गरेको थियो ।
अन्तरक्रियाका क्रममा उपचाररत व्यक्तिहरूको अवस्था, केन्द्रमा उपलब्ध सेवा तथा उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिँदै पुनःस्थापना प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव दिइएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले बजारमा उपभोक्ताको हित संरक्षण, खाद्यवस्तुको गुणस्तर, अत्यावश्यक वस्तुको सहज आपूर्ति तथा विभिन्न सेवा प्रदायक संस्थाहरूको नियमनलाई प्राथमिकतामा राख्दै अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कालाेटाेपी डटकमसँगकाे कुराकानीमा बताउनुभयाे ।
तस्बीरहरूः देवराज केसी
प्रतिक्रिया