सिन्धुपाल्चाेक । झुल्केघाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्चीको १३औं बार्षिक साधारण सभा मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्य एवम् संस्थाका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले सहकारी भनेको केवल बचत र ऋणको कारोबार मात्र नभएर आपसी विश्वास, सहकार्य, पारदर्शिता र सामूहिक समृद्धिको माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले सहकारीलाई मूल्य मान्यता, सिद्धान्त र नियमभित्र रहेर सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । सहकारीको दीर्घकालीन सफलता यसको सुशासन, जवाफदेहिता र पारदर्शितामै निर्भर हुने भन्दै संस्थाको अस्तित्व, विश्वसनीयता र व्यवस्थित सञ्चालनका लागि सबै जना एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उपप्रमुख प्रधानले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूलाई मध्यनजर गर्दै उद्देश्य मिल्ने सहकारीहरूलाई मर्ज गरेर सञ्चालन गर्ने विषय पनि गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको बताउनुभयो । मर्जरबाट संस्थागत क्षमता बढ्ने, लागत घट्ने, सेवा प्रभावकारी र सहकारी अझ बलियो हुने जिकिर गर्नुभयो । ऋणीहरुलाई जुन उद्देश्यका लागि ऋण लिनुभएको हो, सोही उद्देश्यअनुसार ऋण प्रयोग गर्न उहाँले सुझाउनुभयो । उत्पादनमूलक, आयआर्जन र रोजगारी सिर्जनामा केन्द्रित ऋणले मात्र व्यक्ति, परिवार र समाजलाई दीर्घकालीन फाइदा पुर्याउने भन्दै ऋणको सही उपयोगले सहकारीलाई पनि बलियो र सदस्यको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने दाबी गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले देश नै आर्थिकरुपमा तरलतातिर गइरहेको सन्दर्भमा मेलम्चीलाई केन्द्रबिन्दु बनाएर झुल्केघामले राम्रो काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सहकारीको मूल्य मान्यता, बिधी र नियममा रहेर संचालनमा रहेकाले झुल्केघाममा यस्तो समस्या देखा नपरेको उल्लेख गर्नुभयो ।

मेलम्चीमा अझैसम्म पनि दर्ता गरेर थन्किएको सहकारी धेरै रहेको भन्दै त्यस्ता सहकारी संस्थाका कारण राम्रा भनिएका सहकारीसमेत बदनाम हुन पुगेको बताउनुभयो । उहाँले उद्देश्य मिल्ने सहकारी मर्ज गर्ने नगरको योजना रहेको भन्दै त्यसै अनुसार योजना बनाएर अगाडि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा सभापति श्रेष्ठले सहकारीको नीति र नियमको अधिनमा रहेर काम गर्दा शेयर सदस्यको संख्या उल्लेख्य भएपनि सक्रिय सदस्य भने त्यति नभएको बताउनुभयो । खाता खोल्ने तर त्यसलाई नियमित संचालन नगर्नाले धेरै समस्या भोग्नु परेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले साधारणसभा सफल बनाउन सहभागी सम्पूर्णमा धन्यबाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष रुद्रप्रसाद दुलाल, मेलम्ची ९ का अध्यक्ष किरणदीप खड्का, इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ, नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर धिताल लगायतले कार्यक्रमको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको आर्थिक बार्षिक प्रतिवेदन सचिव महेश चालिसेले प्रस्तुत गर्नुभयो । ३ करोड २३ लाख ९० हजार बचत रहेको सहकारीको शेयर पूँजी १ करोड ३९ लाख ६८ रहेको संस्थाका ब्यवस्थापक राम बिष्टले जानकारी दिनुभयो । कुल १ हजार ६२५ सदस्य रहेको सहकारीको ४ करोड २० लाख ८३ हजार ऋण लगानी रहेको बिष्टले बताउनुभयो ।
साधारण सभाको अवसरमा कार्तिक ५ गते आगलागीबाट क्षति पुगेको अधिकारी फेन्सी स्टोरका संचालक दानबहादुर अधिकारीलाई नगद ५ हजार रुपैयाँ सहयोग गरिएको थियो । साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता बाबुराम भुषाल, असल बचत कर्ता गीताकुमारी श्रेष्ठ, असल पुरुष ऋणी दिनेश थापा र असल महिला ऋणी रविताबरुण श्रेष्ठलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया