-बद्रिराज तिमल्सिना
मुलधारका मिडियाका आँखामा नपरेका बिषयलाई रोज्दै बिशेषगरी काभ्रेपलाञ्चाेक आसपासका समाचार सामाग्रीलाई डिजिटल प्लेटफर्ममा पस्किदै आएको अनलाइन पोर्टल ‘कालोटोपी डटकम’ आजबाट दोश्रो वर्षमा प्रवेश गरेको सुन्दा खुशी लागेको छ । सर्बप्रथमत: म, मेरा मित्र ज्ञानेन्द्र नेपाल अर्थात् ज्ञानमणि नेपाल कालोटोपीलाई बधाई दिन्छु । उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिन्छु ।
सानो र छरितो टिमसहित ज्ञानमणि जीको प्रयासमा सुरु भएको यो अनलाइन सकारात्मक पत्रकारिताको एक अंग र विकासका सामाग्रीको डिजिटल संग्रह हो भन्ने ठानेको छु । बिगत अढाई दशकदेखिको पत्रकारिता अनुभव बोकेका नेपाल राजधानीका बिभिन्न मिडियामा काम गरि अहिले आफ्नै जिल्लामा रहेर दैनिकरुपमा संचारकर्म गरिरहनु भएको छ ।
ज्ञानमणि जीको व्यक्तित्वमा देखिने सरलपन र लेखनमा हुने शब्द चयनले पाठक, दर्शक, शुभचिन्तक र साथी संगतिमा उहाँ सधैं आत्मिय हुनुहुन्छ । उहाँलाई सबैले कालोटोपीकै उपनामले चिनिन्छ । कालोटोपीकै प्रयासमा थालेको अनलाइन संचार कालोटोपी डटकमले आज सफलताको पहिलो खुड्किलो उक्लेको छ । यो ज्ञानमणि जी र समग्र संचार जगतले खुशी मान्ने अवसर हो । यो खुशीयाली हरदम उत्साह बोकेर अगाडि बढ्न प्रेरित होस् भन्ने चाहन्छु ।
अक्षर, साहित्य हुँदै समाचार र गहन विश्लेषणसम्म आइपुग्दा ज्ञानमणि जीले विकासे पत्रकारिताको मोडेललाई पछ्याएको महसुस गरेको छु । कालोटोपी डटकममा कृषि, पर्यटन, साहित्य र सिर्जनासहित विकास निर्माण एवं सुशासनका मुद्दा प्राथमिकतामा छन् । काभ्रेपलाञ्चाेक र आसपासका जिल्ला तथा समग्र बागमती प्रदेशका यी र यस्ता मुद्दा यो संस्थाले निरन्तर प्रकाशमा ल्याउनु पर्दछ ।
पछिलो समय मोफसलका स्वरोजगार मिडिया स्थानीय तह र केही दाताका भरमा टिकेको जस्तो लागेको छ । यसले जनप्रतिनिधिलाई हामीले आफैं मिडिया चलाएका छौँ भन्ने भ्रम सिर्जना गरेको छ । जसले सूचनामा प्रत्यक्ष प्रभाव पारेको छ । अत्यावश्यक सूचना र जानकारी भन्दा व्यक्तिमुखी प्रचारबाजी सामाग्रीले ‘स्पेस’ लिएको छ भने हाम्रो वास्तवमै ‘वाच डग’ को भूमिकामा संसय पैदा गर्दै गइरहेको छ । यो बिल्कुल बेठिक हो । यसबाट ‘कालोटोपी डटकम’ प्रभावित नहोस भन्ने चाहन्छु ।
निश्चय पनि स्थानीय स्तरमा चलेका मिडियालाई स्थानीय तहले जोगाउने, संरक्षण गर्ने र टिकाउने कुरामा महत्व दिनुपर्दछ । प्रेस लोकतन्त्रको पर्याय हो, यसको दायरा फराकिलो र अंकुशरहित हुनुपर्दछ । केही कर्पोरेट हाउस र केही व्यवसायी अनि जनप्रतिनिधिको सहयोग लिएर मुखपत्र बनिरहेको पछिल्लो संचारकर्म वास्तवमै नागरिकको अवाज बन्नु पर्छ ।
अनुभवी पत्रकार ज्ञानमणि नेपालले सिकेको ज्ञान र सीपसहितको अनुभवले यस समाचार संस्था मणिजडित सुशोभित र विश्वसनीय अनलाइन पोर्टल बन्न सकोस भन्ने चाहन्छु । निष्पक्ष, भयरहित र तथ्यपरक पत्रकारितामार्फत कालोटोपी डटकम आवाजविहीनहरुको आवाज बन्न सकोस् भन्ने शुभेक्षासहित दोश्रो वर्ष प्रवेशको निरन्तर शुभकामना व्यक्त गर्दछु । (लेखक पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष हुनुहुन्छ ।)
प्रतिक्रिया