• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

कालोटोपी डटकमकाे दोस्रो वर्षकाे यात्रा: ‘पहिचान स्थापित गराउने प्रयत्नले सफलता पाओस्’

कालोटोपी डटकमकाे दोस्रो वर्षकाे यात्रा: ‘पहिचान स्थापित गराउने प्रयत्नले सफलता पाओस्’

मोतीराम तिमल्सिना
बनेपा । कुनै समय थियो समाचार सुन्न, पढ्न र लेख्न महाभारतको कथा जस्तै हुन्थ्यो । विना प्रविधि, स्रोत, साधनको अभावका बाबजुद पनि नागरिकहरूलाई सूचना उपलब्ध गराउने हुटहुटी अग्रजहरूले पत्रकारिताका माध्यमबाट निरन्तर कायम राखिरहेका थिए । राज्य व्यवस्थाको चरम दमन, शोषण र अन्यायका विरुद्ध पनि उनीहरूले कलमका माध्यमबाट नागरिकहरूलाई सुसूचित गराइरहेका थिए । त्यही क्रममा कति पत्रकारहरू जेल पनि परे । राज्यविरुद्ध नागरिकहरूलाई सचेत गराएको अभियोग सञ्चारकर्मीहरूलाई हिजो पनि थियो । आज पनि छ । सत्ता जहिल्यै निरंकुश हुन्छ । सत्तामा बस्नेहरूले गरेका गलत क्रियाकलापको विरुद्ध सशक्त कलम चलाउँदा पत्रकारहरूलाई जेल हाल्ने शासकहरूको पतन पनि निश्चित छ । तर सामग्री वस्तुपरक, यथार्थपरक र सत्यतथ्यमा आधारित हुनुपर्छ ।

राणा शासन ढलेर शुरु भएको २००७ सालको प्रजातन्त्र धेरै समय टिक्न पाएन । निरंकुश पञ्चायतले गरेको शासन २०४६ सालमा नागरिकहरूले ढाले । २०५२ सालमा सशस्त्र द्वन्द्व सुरु भएयता मुलुकमा थप अस्थिरता सुरु भयो । नागरिकहरूले परिवर्तनको आभास त गरे तर क्रमशः गाउँ खण्डित हुन थाल्यो । नागरिकहरू पलायन हुन थाले । गाउँबाट सहर, सहरबाट विदेश । आज गाउँमा विकास फर्कियो, नागरिक सहरबाट फर्कन सकेनन् । अवसर सहरमा हुन थाल्यो । स्वरोजगार सहरमा हुन थाल्यो । शक्ति र भक्ति गाउनेहरूको मात्रै भलो हुन थाल्यो । नागरिकहरूमा छाएको निराशा क्रमशः बढिरह्यो ।

२०६२/२०६३ को जनआन्दोलनको उभारपछि नागरिकहरूमा छाएको खुसीलाई दलहरूले धुलिसात बनाए । सत्ताका नाममा, निर्वाचनका नाममा, परिवर्तनका नाममा । त्यही संक्रमणकालीन फाइदा उठाउँदै राज्यका हरेक निकायमा भ्रष्टाचार मौलायो । अराजकता र असमानता फैलियो । २०६४ सालमा भएको संविधान सभाको निर्वाचनले संविधान बनाउन सकेन । २०७० सालमा पुनः निर्वाचन भयो । २०७२ सालको भूकम्पका कारण संविधान जारी गर्न दलहरू बाध्य भए । २०७२ असोज ३ गते नेपालले नयाँ संविधान प्राप्त गर्यो ।

२०७४ सालमा पहिलो पटक तीन तहका सरकारको संरचनाअनुसार स्थानीय सरकारको निर्वाचन भयो । अभ्यास नहुँदै सुरु भएका तीन तहका सरकारले नागरिकहरूको अधिकार स्थापित गर्न सकेनन् । कतिपय अवस्थामा संघीय सरकारले स्थानीय सरकारलाई अधिकार नै हस्तान्तरण गरेनन् । संविधानमा उल्लेख भयो, व्यवहारतः आज पनि केही अधिकारहरू माथिल्लो सरकारले नै नियन्त्रण गरिरहेको छ । प्रदेश सरकार मन्त्री र मुख्यमन्त्री उत्पादन गर्ने कारखाना बन्यो । क्रमशः सत्ता, दल, नेताहरूप्रति नागरिकहरूको वितृष्णा बढ्यो । गठबन्धनका नाममा विचार नमिल्नेहरूसँग एकता गरेर सत्ता हत्याउने खेल सुरु भयो । मिल्दा सबै राम्रो अनि छाडेपछि सत्तोसराप । दलका कार्यकर्ता र नेताहरूलाई जता पनि मत राख्न बाध्य पारियो । त्यसकै फलस्वरूप केही दलको आवरणमा भदौ २३ को आन्दोलन भयो । २४ गते विध्वंस मच्चाउने योजनाअनुसार नेपाललाई ध्वस्त बनाइयो । नयाँ सरकारप्रतिको अपेक्षा पुनः क्रमशः खस्किँदै जान थालेको छ ।

सुशासन कायम हुन सकेन । नागरिकहरूलाई लाइनबाट अनलाइनमा भन्ने भाष्य गलत साबित भयो । रासायनिक मलको अभाव छ । ग्यासको अभाव छ । बजार मूल्य आकाशिएको छ । राहदानी, परिचयपत्रका लागि लाइन छ । भनिन्छ अझै तल अरू दलको सरकार छ । भ्रम पनि कति कति । उता प्रदेशमा फेरि सत्ता परिवर्तनको नाटक चलिरहेको छ । रोजगार छैन । वैदेशिक रोजगारमा जानेहरूको संख्या बढिरहेको छ । युवा शक्ति कुनै न कुनै नाममा पलायन हुन थालेको छ । कन्सल्टेन्सी व्यवसायीहरूलाई कडा गरेको नाममा विद्यार्थी रोकिनेवाला छैनन् । नयाँ सरकारप्रति आम नागरिकहरूको चासो र आशा यति चाँडै किन निराशामा बदलिन पुग्यो ? मुलुक साँच्चै कता जाँदै छ ? गम्भीर चिन्ताको विषय बन्न थालेको छ । सत्ताको नेतृत्व गर्ने दल र तिनका कार्यकर्ताहरू पनि यो विषयमा चिन्तित देखिनु आवश्यक छ । व्यवसायीहरूले लगानी गर्न छाडेका छन् । मुलुक थप ऋणमा परेको छ । नागरिकहरूलाई कुनै न कुनै बहानामा करका क्षेत्र र दरहरू बढाइएको छ । यसले नागरिकहरूलाई उत्साहभन्दा पनि निराशातर्फ धकेलेको छ । व्यक्तिले जिउँदै जल्नुपर्ने जस्ता क्रूर घटना हुन थालेका छन् । ३ वर्षिया बालिकाले पनि बलात्कृत हुनुपर्ने अवस्था सिर्जना भएको छ । राज्य संयन्त्रका सबै निकाय त्रसित छन् ।

यो परिवर्तनमा नेपालका सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको महत्वपूर्ण योगदान छ । सामाजिक सञ्जालकै कारण धेरैको जीवन परिवर्तन भएको छ । तर पैसा आउने नाममा सुरु भएको विकृति भान्साबाट ओछ्यानसम्म पुगेको छ । व्यक्तिको गोपनीयता सकिएको छ । समाजमा आदर, सत्कार, संस्कार, समुदाय, आफन्त भन्ने विषयहरू गौण हुन थालेका छन् । यही क्रममा जिल्लाबाट एक वर्षदेखि प्रकाशन आरम्भ गरेको कालोटोपी अनलाइनले समाजका हरेक विकृति, विसंगतिविरुद्ध सशक्त हुँदै सकारात्मक अभियानको खुलेर प्रशंसा गर्नु आवश्यक छ ।

हरेक योजना निर्माण र शुरुवातीको चरणमा व्यक्ति एक्लै हुन सक्छ । एक्लै हुन्छ पनि । तर उसले दिने विषयका कारण ऊ एक्लै हुँदैन । अहिले ज्ञानमणि नेपाल ‘कालोटोपी’ एक्लो हुनुहुन्न । उहाँका सयौँ पाठकहरू छन् । शुभचिन्तक पनि छन् । आलोचक पनि छन् । असहयोगी पनि छन् । यो सबै व्यक्तिले कमाएको सम्पत्ति हो । समाज निर्माण र व्यक्तिको सफलताका लागि यी सबै आवश्यक पनि छन् ।

समाज परिवर्तनमा अनलाइनको भूमिकालाई फराकिलो बनाउँदै नागरिकहरूले प्राप्त गर्ने सूचनाको हकलाई स्थापित गर्न अनलाइन सधैँ सक्रिय रहनुपर्छ । जिल्लाका समग्र विषयवस्तुका अलावा पहुँचका हिसाबले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत अध्ययन गर्न सकिने माध्यमलाई अझै गुणस्तरीय, विश्वसनीय र पठनीय बनाउन यसको सम्पादकीय टिमले ध्यान दिनु आवश्यक छ । सूचनाकै लागि नागरिकहरू अहिले एउटा अनलाइन र सञ्चारमाध्यमको मात्रै भर परेका हुँदैनन् । तर पनि कालोटोपी अनलाइन नै अध्ययन गर्नुपर्छ भन्ने भोक जगाउन त्यसले प्रस्तुत गर्ने सामग्रीहरूको ओजलाई अझै गहिरो र खँदिलो बनाउनुपर्छ ।

ज्ञानमणि नेपाल ‘कालोटोपी’ उर्फ ज्ञानेन्द्र नेपाल लामो समयदेखि छापामाध्यममा कार्यरत हुनुहुन्थ्यो । अझै राजधानीमा रहेर उहाँले छापा र अन्य सञ्चारमाध्यममा सक्रिय रहेर पत्रकारिताप्रतिको निरन्तरता र लगावलाई अघि बढाइरहनुभयो । कुनै समय हामी एउटै सञ्चारमाध्यमका सहकर्मी पनि हौँ । जिल्ला फर्किएर उहाँले स्थानीय साप्ताहिक पत्रिकामार्फत जिल्लावासीहरूमा पनि पहिचान दिन शुरु गर्नुभयो । नामभन्दा पनि उहाँ सुरुदेखि नै उपनामले चिनिनुभयो । कालोटोपी पनि लगाएर उहाँले उपनामलाई कायम राखिरहनुभयो । त्यही विषयलाई उहाँले सञ्चारमाध्यममार्फत अझै स्थापित गराउने प्रयत्न सुरु गर्नुभयो । हरेक योजना निर्माण र शुरुवातीको चरणमा व्यक्ति एक्लै हुन सक्छ । एक्लै हुन्छ पनि । तर उसले दिने विषयका कारण ऊ एक्लै हुँदैन । अहिले ज्ञानमणि नेपाल ‘कालोटोपी’ एक्लो हुनुहुन्न । उहाँका सयौँ पाठकहरू छन् । शुभचिन्तक पनि छन् । आलोचक पनि छन् । असहयोगी पनि छन् । यो सबै व्यक्तिले कमाएको सम्पत्ति हो । समाज निर्माण र व्यक्तिको सफलताका लागि यी सबै आवश्यक पनि छन् ।

कालोटोपी अनलाइनले अहिलेको एआई प्रविधिसँग साक्षात्कार गर्दै प्रकृति र नागरिकसँगको वास्तविकतालाई पस्कन सक्नु मुख्य चुनौती हो । कपि पेस्टसँगै एआईले लेख्ने कतिपय सामग्रीहरूको शुद्धता, विश्वसनीयता र आधिकारिकता झनै अर्को चुनौती छ । सँगै बजार, त्यसबाट प्राप्त हुने आम्दानी र निरन्तरताको विषयमा पक्कै पनि ‘कालोटोपी डटकम’ परिवार सचेत नै छ । दोस्रो वर्ष प्रवेश गरेको अवसरमा हार्दिक शुभकामना । (लेखक नेपाल पत्रकार महासंघ, काभ्रे शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ)



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १६, मंगलवार ०५:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP