ज्ञानमणि नेपाल कालाेटाेपी
काभ्रेपलाञ्चोक । रसुवा हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट विभिन्न जिल्लामा भएको जनधनको क्षति तथा प्रभावितको खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनेदेखि बेपत्ता नागरिकको खोज तथा उद्धार, नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क गराउने, सडक तथा पूर्वाधारको मर्मतसम्भार र राहत वितरणमा समन्वय गर्ने निर्णय गरेको हो ।
बैठकले भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा भएको धनजनको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै बाढीमा परी बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा सकुशल उद्धारको कामना गरेको छ ।
राहतका नाममा रकम उठाउनेलाई कारबाही
विपद्को अवस्थामा सहयोग गर्न चाहने महानुभाव, संघसंस्था तथा व्यवसायीले नगद सहयोग गर्नुपरेमा नेपाल सरकारले तोकेको बैंक खातामा वा QR कोडमार्फत मात्र रकम जम्मा गर्न बैठकले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय गर्ने र कसैले विपद् प्रभावितलाई सहयोग गराउने भन्दै आफ्नो व्यक्तिगत बैंक खाता वा QR कोडमार्फत रकम संकलन गरेको पाइएमा तत्काल DEOC तथा नजिकको प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ । त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने निर्णय बैठकले गरेको छ ।
काभ्रेबाट रसुवा–नुवाकोट गएका ४० जना अझै सम्पर्कविहीन
बैठकमा प्रस्तुत विवरणअनुसार काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाबाट आफ्नो पेशा, व्यवसाय तथा श्रमको सिलसिलामा नुवाकोट र रसुवा गएका आफन्त भदौ १० गतेको बाढीपछि सम्पर्कमा नआएको भन्दै जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (DEOC) मा ६६ जनाले विवरण टिपाएका थिए । तीमध्ये २४ जना परिवारको सम्पर्कमा आइसकेका छन् भने २ जनाको शव फेला परेको र सोमबार बिहान ११ बजेसम्म ४० जना व्यक्तिको अवस्था अज्ञात रहेको बैठकमा जानकारी गराइएको छ ।
बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धारका लागि जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा सञ्चारकर्मीमार्फत निरन्तर सूचना संकलन तथा समन्वय गरी प्राप्त विवरण DEOC मार्फत अद्यावधिक गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी, परिवारका सदस्य बेपत्ता भई पीडामा रहेका परिवारसँग स्थानीय तहका प्रतिनिधिले भेटघाट तथा निरन्तर सम्पर्क गरी आवश्यक सहयोग र सहजीकरण गर्ने तथा बेपत्ता व्यक्तिका परिवारलाई अस्पताल तथा शव रहेका स्थानसम्म जान आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको छ ।
सडक तथा पूर्वाधार तत्काल मर्मत गर्न निर्देशन
बाढी तथा वर्षाका कारण सडक, खानेपानी, सिँचाइ, विद्युतलगायतका अत्यावश्यक सेवा अवरुद्ध भएमा सम्बन्धित कार्यालय तथा निकायले आफ्ना स्रोतसाधन र जनशक्ति तयारी अवस्थामा राखी तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्ने निर्णय गरिएको छ । विपद्का बेला जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सम्बन्धित निकायहरू स्वतः परिचालित हुने व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ । त्यसैगरी विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संघसंस्था, नागरिक समाज, सञ्चार जगतलगायत सबै सरोकारवालालाई सहयोग, सहकार्य र साझेदारीका लागि अनुरोध गरिएको छ ।
नदी किनारका बस्तीलाई उच्च सतर्कता
भोटेकोशीमा आएको बाढीपछि मौसम सफा रहे पनि तिब्बततर्फबाट आउने नदीहरूमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने र त्यसबाट थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनारमा बसोबास गर्ने नागरिकलाई निरन्तर सचेत गराउने निर्णय गरिएको छ । स्थानीय तह तथा जिल्ला प्रहरी कार्यालयले नदी किनारमा बसोबास गर्ने व्यक्ति तथा जोखिमयुक्त स्थानमा रहेका परिवारको विवरण, मोबाइल नम्बरलगायतका सम्पर्क विवरण अद्यावधिक गरी DEOC मा समेत राख्ने निर्णय गरेको छ ।
विपद् प्रभावितलाई तत्काल राहत
कुनै स्थानमा विपद्जन्य घटना भई सर्वसाधारण प्रभावित भएमा विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा प्रभावित घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको छ । नगद सहायता वा वस्तुगत सहायता, मृतकका परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचारलगायतका काममा स्थानीय तहले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ ।
बेथानचोकका ८ परिवारलाई निजी आवास अनुदान
बैठकले बेथानचोक गाउँपालिकामा २०८१ असाेजकाे अविरल वर्षाका कारण आवासमा क्षति पुगेका ८ परिवारलाई निजी आवास अनुदान उपलब्ध गराउने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त प्रतिवेदन तथा स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा लाभग्राही विवरण स्वीकृत गरी सम्झौता प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरिएको हो । बैठकले विपद्को जोखिम अझै कायम रहेकाले मौसम पूर्वानुमानको नियमित जानकारी लिँदै सम्भावित जोखिमबारे पूर्वसूचना प्रवाह, विपद्का बेला सही सूचना सम्प्रेषण तथा उद्धार र राहत वितरणमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई निर्देशनसमेत दिएको छ ।
प्रतिक्रिया