• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

भोटेकोशी बाढीपीडितका लागि पनौती नगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि पनौती नगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गर्ने

काभ्रे । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति पनौती नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

गत भदौ १० गते बुधबार आएको बाढीका कारण भएको अपूरणीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

भदौ १५ गते सोमबार बसेको पनौती नगर कार्यपालिकाको बैठकले विपद्मा परी बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार, घाइते एवं प्रभावित नागरिकहरूको सुरक्षित पुनर्स्थापना र सहज जीवनयापनका लागि सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका अनुसार उक्त रकम कर्मचारी तथा जनप्रतिनिधिबाट समेत योगदान जुटाएर व्यवस्थापन गरिनेछ । कर्मचारीको हकमा नेपाल सरकारले तोकेको तलब स्केलबाट रकम कट्टा गरिनेछ भने जनप्रतिनिधिको हकमा पारिश्रमिकको ३५ प्रतिशत रकम उपलब्ध गराइनेछ। यसरी संकलित रकम अपुग भए नगरपालिकाले थप रकम व्यहोर्ने निर्णय गरेको छ । पनौती नगरपालिकाले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबै पक्षलाई सहयोग र सहकार्य गर्नसमेत आग्रह गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १५, सोमबार १८:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP