सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरी क्षेत्रमा जनैपूर्णिमाको अवसरमा भएको खुकुरी तथा छुरा प्रहारको घटनाप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष टासी लामाले घटनाबाट आफूहरू स्तब्ध भएको बताउँदै घाइतेहरूको उद्धार तथा उपचारमा गाउँपालिकाले तत्काल सक्रियता देखाएको जानकारी दिनुभएको छ ।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत भदौ १२ गते जनैपूर्णिमा मनाउने क्रममा पाँचपोखरी क्षेत्रमा अप्रिय घटना भएको थियो । घटनामा केही व्यक्ति घाइते भएपछि स्थानीय सरकारको दायित्व र संवेदनशीलतालाई ध्यानमा राख्दै वडा नं. ३ का जनप्रतिनिधि, पाँचपोखरी संरक्षण क्षेत्र विकास समिति, नेपाली सेना र नेपाल प्रहरीसँग तत्काल समन्वय गरी उद्धारको पहल गरिएको अध्यक्ष लामाले बताउनुभएको छ ।
घाइतेहरूको तत्काल प्राथमिक उपचारका लागि नेपाली सेना र गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित आधारभूत स्वास्थ्य शिविरमा उपचारको व्यवस्था मिलाइएको थियो । गम्भीर घाइतेको जीवनरक्षा तथा उद्धारका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारीसमेत गरेको थियो । तर प्रतिकूल मौसम तथा बाक्लो हुस्सुका कारण तत्काल हेलिकोप्टर उडान सम्भव हुन नसकेको गाउँपालिकाले जनाएको छ ।
हेलिकोप्टरबाट उद्धार सम्भव नभएपछि स्थानीय होटल व्यवसायी तथा अन्य सहयोगीहरूको समन्वयमा घाइतेहरूलाई कठिन भौगोलिक बाटो हुँदै करिब ६ घण्टा बोकेर देउरालीसम्म ल्याई सडक पहुँचमा पुर्याइएको थियो । गम्भीर घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत सिधै काठमाडौं लैजाने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । अन्य घाइतेलाई गाउँपालिकाको जेसीबी प्रयोग गरी सडक पहुँच भएको स्थानसम्म ल्याएर धुलिखेल अस्पताल पुर्याइएको थियो । त्यसपछि आवश्यकताअनुसार पाँचपोखरी प्राथमिक अस्पतालमा उपचार तथा खानपानको व्यवस्था मिलाउनुका साथै थप उपचारका लागि काठमाडौं पठाउने कार्यसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष लामाका अनुसार भौगोलिक विकटता, सीमित स्रोतसाधन र प्रतिकूल मौसमका बाबजुद गाउँपालिकाले उद्धार तथा उपचारमा आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेको छैन । उहाँले आगामी दिनमा यस्ता अमानवीय घटना दोहोरिन नदिन गाउँपालिका पूर्ण रूपमा सचेत रहने बताउनुभएको छ । साथै, घटनालाई दुःखद तथा अमानवीय भन्दै दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाहीका लागि प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष लामाले पाँचपोखरीमा आस्था राखेर पुगेका भक्तजन, पर्यटक तथा घाइते परिवारजनप्रति गाउँपालिकाको तर्फबाट हार्दिक क्षमायाचना तथा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले पाँचपोखरी क्षेत्रको दीर्घकालीन सुरक्षा व्यवस्थापन, स्वास्थ्य प्रबन्ध तथा पर्यटक सुरक्षालाई प्रभावकारी बनाउन शीघ्र सर्वपक्षीय बैठक बोलाई ठोस नीतिगत निर्णय गर्ने जानकारीसमेत दिनुभएको छ । घटनापछि उद्धार तथा व्यवस्थापनमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पाँचपोखरी संरक्षण क्षेत्र विकास समिति, स्थानीय होटल व्यवसायी तथा नागरिक समाजप्रति अध्यक्ष लामाले धन्यवाद व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया