
श्याम शर्मा एल सि
सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक सञ्चालनमा आएको पाल्चोकी माइ कृषक हाटबजारले स्थानीय कृषकहरूको उत्पादनलाई प्रत्यक्ष बजारसँग जोड्दै ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको छ । वि.सं. २०८२ साल पौष १९ गतेबाट सञ्चालनमा आएको यो हाटबजार हालसम्म निरन्तररूपमा सक्रिय रहँदै आएको छ ।
हेलम्बु गाउँपालिकाको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा सञ्चालित उक्त हाटबजारमा स्थानीय किसानहरूले उत्पादन गरेका अर्गानिक तरकारी, ताजा फलफूल तथा अन्य कृषि उपजहरू प्रत्यक्षरूपमा बिक्री हुँदै आएका छन् । यसले एकातिर स्थानीय उत्पादनको बजारीकरणलाई सहज बनाएको छ भने अर्कोतिर उपभोक्तालाई गुणस्तरीय र ताजा खाद्य सामग्री उपलब्ध गराएको छ ।
पाल्चोकी माइ भगवती मन्दिर दर्शनका लागि आउने भक्तजनहरू तथा स्थानीय बासिन्दाहरूका लागि हाटबजार आकर्षणको केन्द्र बन्दै गएको छ । धार्मिक पर्यटनसँगै कृषि उत्पादनको प्रवर्द्धन हुनु यस बजारको महत्वपूर्ण विशेषता हो ।
हाटबजार सञ्चालनमा आएपछि किसानहरूले आफ्नै आँगनमा उत्पादन गरेका तरकारी तथा फलफूल बिचौलियाविहीन रूपमा आफ्नै मूल्यमा बिक्री गर्न पाउने अवसर प्राप्त गरेका छन् । यसले उनीहरूको आम्दानीमा वृद्धि हुनुका साथै उत्पादनप्रति आत्मविश्वास समेत बढाएको छ ।
स्थानीय तहको समन्वय र गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालनमा आएको यो हाट बजारले “आँगनबाटै बिक्री” भन्ने अवधारणालाई व्यवहारमा उतार्दै किसानमुखी बजार प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ । यसले दीगो कृषि विकास, स्थानीय उत्पादनको संरक्षण तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया