• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

तिथि वृद्धिका कारण यस वर्ष दुई दिन महाअष्टमी, नवरात्र दशरात्रमा परिणत

तिथि वृद्धिका कारण यस वर्ष दुई दिन महाअष्टमी, नवरात्र दशरात्रमा परिणत

काठमाडौँ । यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेपछि दुवै दिन महाअष्टमीका धार्मिक कर्म गर्नुपर्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ।

समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते महाअष्टमीका रूपमा गरिएका पूजाआजा तथा अन्य धार्मिक कर्म कात्तिक २ गते पनि दोहोर्‍याउनुपर्ने हुन्छ।

कात्तिक २ गते सोमबार नवरात्रको नवौँ दिन परे पनि दशैँघर वा पूजा कोठामा भने आठौँ दिनको कर्म गर्नुपर्ने उनले बताए। यस दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा आराधना गर्नुपर्नेछ। महाअष्टमीका अवसरमा गरिने अन्य धार्मिक विधि पनि दोहोर्‍याउनुपर्ने उनको भनाइ छ। आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।

नवरात्र दशरात्रमा परिणत
अष्टमी तिथि दुई दिन परेकाले यस वर्षको नवरात्र नौ रातको सट्टा दश रातको हुने भएको छ । त्यसैले यस वर्ष विजयादशमीका दिन लगाइने टीकासँगै १० रात्रिका जमरा प्रयोग गरिनेछ। धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना, पूजा तथा आराधना गर्ने अवधि एक दिन बढ्दैमा धार्मिक कर्ममा कुनै फरक पर्दैन। तिथि वृद्धिका कारण धार्मिक विधि र पूजाको क्रम भने शास्त्रीय मान्यताअनुसार पूरा गर्नुपर्ने हुन्छ।

हनुमानढोकामा सोमबार मूल पूजा
हनुमानढोका दरबारस्थित दशैँघरमा आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ। दरबार हेरचाह अड्डाका अनुसार महाअष्टमीको मूल पूजा भने सोमबार गरिनेछ। हनुमानढोका दरबारमा महाअष्टमीको राति १०८ पशु बलिसहित पूजा आराधना गर्ने परम्परा रहिआएको छ। यस वर्ष पनि तिथि वृद्धिका कारण निर्धारित धार्मिक विधिअनुसार पूजा तथा आराधना गरिने जनाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक ३, सोमबार ०७:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP