पनौती । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले आफ्नो जन्मगाउँ काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा भलिबल खेलले लामो समयदेखि कायम राखेको पहिचानप्रति गौरव व्यक्त गरेका छन् । वडादशैँको अवसरमा आयोजित वडास्तरीय भलिबल प्रतियोगितामा सहभागी हुँदै उनले खेलकुदको परम्परालाई नयाँ पुस्ताले समेत निरन्तरता दिएको भन्दै खुसी व्यक्त गरेका हुन् ।
असोज ३१ देखि कात्तिक ३ गतेसम्म बल्थलीमा लडकेश्वर युवा क्लबको आयोजनामा वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिताबारे सामाजिक सञ्जालमा सार्वजनिक सहयोगसम्बन्धी एउटा पोस्टबाट प्रेरित भएर आफू जन्मगाउँ पुगेको आचार्यले बताएका छन् ।
आफ्ना बालसखा एवं सहपाठी रामकृष्ण सिंदालीकी बुहारी कविता सिंदालीको सहयोगसम्बन्धी पोस्टले प्रतियोगितास्थलसम्म पुग्न प्रेरित गरेको उल्लेख गर्दै आचार्यले केही समय भए पनि निकालेर प्रतियोगितामा सहभागी हुने र आफूले सकेको सहयोग गर्ने सोच बनाएको बताएका छन् ।
प्रतियोगितास्थलमा पुग्दा आफूलाई स्थानीय युवा खेलाडी तथा आयोजकले सम्मान गरेको अनुभवले थप उत्साहित बनाएको उनको भनाइ छ । बल्थलीले भलिबल खेलमा जिल्लाभरि नै लामो समयदेखि विशिष्ट पहिचान बनाउँदै आएको उल्लेख गर्दै उनले त्यस परम्परालाई अहिलेको पुस्ताले पनि जोगाइराखेकोमा गौरव व्यक्त गरेका छन् ।
आचार्यले प्रतियोगिता सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने लडकेश्वर युवा क्लबका सदस्यहरूको प्रशंसा गर्दै उनीहरूलाई धन्यवादसमेत दिएका छन् । उत्साही, ऊर्जाशील र कर्मशील युवाहरूले खेलकुदका माध्यमबाट गाउँको पहिचान र गौरवलाई निरन्तरता दिन गरेको प्रयास प्रशंसनीय रहेको उनको सन्देश छ ।
विजयादशमीको अवसरमा आयोजित प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा सक्रिय बनाउनुका साथै गाउँमा आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्नसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। आचार्यले लडकेश्वर युवा क्लबका सदस्यहरूलाई आगामी दिनमा पनि यस्तै सक्रियताका साथ अघि बढ्न शुभकामना दिएका छन्।
प्रतिक्रिया