काठमाडौँ । ३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्वकप फुटबल इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् ।
अर्जेन्टिनाको समूह ‘जे’ अन्तर्गत अष्ट्रियाविरुद्ध २–० को जितमा पहिलो गोल गर्दै उनले मिरोस्लाभ क्लोजेको विश्वकपमा सर्वाधिक १६ गोलको कीर्तिमान तोडेका हुन् ।
लगातार छैटौं विश्वकप खेलमा गोल गर्न सफल मेस्सीले खेलको अन्त्यतिर अर्को गोल थप्दै आफ्नो विश्वकप गोल संख्या १८ पुर्याए । यससँगै उनले विश्वकप इतिहासमा पुरुष तथा महिला दुवै विधाका खेलाडीमध्ये सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत आफ्नो नाममा दर्ज गरेका छन् ।
मेस्सीको उत्कृष्ट प्रदर्शनमा साविक विश्व विजेता अर्जेन्टिनाले अष्ट्रियालाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेसँगै मेस्सीले आफ्नो गौरवपूर्ण करियरमा अर्को ऐतिहासिक उपलब्धि थपेका छन् ।एजेन्सी
प्रतिक्रिया