काठमाडौँ । हिन्दूहरूको महान् पर्व दशैँ नेपालमा मात्र नभएर विश्वका अन्य देशमा पनि मनाइन्छ । ती देशहरुमा हिन्दूहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्तिपीठमा पूजा गर्छन् ।
छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरकफरक ढंगले दशैँ मनाइन्छ । भारतमा विशेषगरि नवदुर्गाको पूजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपाली भाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका लगाइन्छ । पश्चिम बंगालमा नवदुर्गा पूजा आराधना गरेर मनाइन्छ भने बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी र नवमीमा दुर्गाको विशेष पूजा हुन्छ ।
आन्ध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दशैँ मनाइन्छ । यस अवधिमा लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । यहाँ पहिलाे तीन दिन धन र समृद्धिकी देवी लक्ष्मीको आराधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ ।
गुजरातमा दशैँको अवसरमा गरबा नृत्य गरिन्छ । त्यस्तै, महाराष्ट्रमा देवीको पूजा आराधना गरेर मनाइन्छ। कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्री मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म उपवास बस्छन् । भक्तजनहरू नवरात्रीभर माता भवानीको दर्शन गर्छन्। नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य हुन्छ।
करिब १ लाख नेपालीभाषी रहेको वर्मामा पनि दशैँ मनाइन्छ । नेपालीभाषीको बाहुल्यता रहेको पूर्वराजधानी शहर यांगुन, मन्डला, पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दशैँ मनाइन्छ । उता बंगलादेशमा पनि दशैँ मनाइन्छ । १६ करोड जनसंख्या भएको बंगलादेशमा १४ प्रतिशत हिन्दू धर्मालम्बी छन् । हिन्दु धर्मालम्बीले नवदुर्गाको पूजा आराधना गर्छन् । बंगलादेशमा बस्ने नेपालीबाहेक अन्यले भने टीका लगाउँदैनन् । त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दूहरूले दशैँ मनाउँछन् । त्यसैगरी मलेसिया, थाइल्यान्ड इन्डोनेसियाका हिन्दूहरुले पनि दशैँ मनाउने गरेका छन् ।
प्रतिक्रिया