काठमाडौं । दूर्गापूजा, टीका र जमरा दशैंका मुख्य विशेषता हुन् । तर दशैंसँग थुप्रै विषय जोडिने गरेका छन् । दशैंसँग जोडिएका विविध पक्षलाई भने हामी भूल्न सक्दैनौं । यही विविध पक्षहरू मध्येको एउटा पाटो हो, गीत संगीत ।
दशैं पात्रोका पानाहरू पल्टाएर मात्रै आउँदैन । शरद ऋतुको आगमनसँगै मौसममा देखिने एक प्रकारको नयाँपन अनि रेडियो, टेलिभिजन, सार्वजनिक सवारी, हाटबजार, मेला अनि सुपरमार्केटमा बज्ने मालश्री धून र दशैं भावमा बज्ने गीत पनि दशैं बोकेर आउने पक्षहरू हुन् । यहाँ यस्तै यस्तै गीत सङ्गीत अनि दशैंसँग जोडिएका केही सदाबहार कालजयी गीत–संगीतको चर्चा गरिएको छः
०००
१.मालश्री धुन
दशैंमा सबैभन्दा बढी बज्ने सांगितिक धुन हो मालश्री धुन । सनातन हिन्दू धर्मअनुसार कालिका, जगदिश्वरी लगायत नारी शक्तिहरूको अनुग्रह तथा पूजा आराधनामा यो धुनको प्रयोग हुँदै आएको छ । विभिन्न ठाउँ र पर्वअनुसार मालश्री धुन फरकफरक सुन्न सकिन्छ । ढोलकको प्रयोगविना बजाइने मालश्रीले दशैंको आभास दिन्छ । यसअनुरुप मादल, झ्याम्टा, ढोलकलगायत बाजा बजाएर मालश्रीको राग सिर्जना गर्ने गरिएको छ । यही धुन जसले साँच्चै सांस्कृतिक रुपमा दशैं बोकेर आउँछ । नयाँ उमंग लिएर आउँछ ।
०००
२. दशैं नै हो कि, यो मेरो दशा…
जब, दशैंको आभास हुन्छ अनि, रचनाकार प्रेम बस्नेतको ‘दशैं नै हो कि, यो मेरो दशा, फर्की आएको…’ बोलको गीतले चर्चा पाउँछ । निकै नै कर्णप्रिय यस गीतले दशैंको नयाँ उमंग मात्र ल्याउँदैन दशैंसँगै परिवार तथा सन्तानका रहर, इच्छा र आकांक्षाका विषय पनि उजार गराई दिन्छ ।
दशैं नै हो कि, यो मेरो दशा फर्की आएको
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको
दशैं आएको… दशैं आएको…
पारिवारिक जिम्मेवारी बोध गर्नुपर्ने अभिभावकको मनोदशा गीतले बोल्छ । दशैंसँग मौलिकता र साँस्कृतिक पक्ष मात्र जोडिएको छैन, आर्थिक पक्ष पनि गहनरूपमा सम्मेलित छ भन्ने सन्देश गीतमा सुन्न सकिन्छ । अधिकांश नेपालीको दुःखाइ हो, भोगाइ हो । अझ भनौं तल्लो वर्गको आर्थिक अवस्थाका मानिसहरूका निम्ति दशैंको मनोदशा गीतले बोल्छ । योगेश्वर अमात्यको आवाजमा रहेको यो गीत साँच्चै दशैंसँग झुमेर आउँछ ।
०००
३. नमुछे आमा दहीमा टिका नछरे जमरा…
दशैं पर्व यस्तो पर्व हो जसले, सारा नेपालीलाई एउटै धागोमा समेटिरहेको आभास गर्न सकिन्छ । स्वदेश विदेश जहाँ भएपनि यो बेलामा एक पटक भएपनि आफ्नो गाउँ, घर सम्झाउने माध्यमका रूपमा मानिन्छ दशैं । तर, सधैं सोचे जस्तै, भने जस्तै गरि कहाँ घर फर्कन पाइन्छ र ? यिनै अनुभूतिलाई समेटेर भारतीय सेनामा कार्यरत लक्ष्मण रायमाझीले पाकिस्तानसँगको युद्धका बेला रचेका थिए ‘नमुछे आमा दहीमा टीका…’ बोलको गीत ।
रचनाकार गायक नारायण रायमाझीका दाजु हुन् । परदेशिएका नेपालीको आत्मकथा बोल्ने यो गीतमा परदेशमा रहेका छोराले आमालाई आफू मृत्युको संघारमा पुगेकाले, नवदूर्गाको प्रसाद जमरा र टीकाको दुःख नगर्न आग्रह गरिएको छ । अझ भनौं परदेशिएको छोराको आशामा कुनै दुःख नगर्नु है भन्ने सन्देश प्रवाह गरिएको छ ।
‘नमुछे आमादहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर’
गीतमा आफ्नी जीवन संगिनीलाई नाडीका चुरा अनि सिँउदोको सिन्दुर नत्याग्न पनि आग्रह गरिएको छ ।
‘नफोरे प्रिय नाडीका चुरा झर्याम्म पारेर
जाँदैन दुःख आँसुका ढिक्का बर्बरी झारेर ।’
पर्व लक्षित हुँदाहुँदै पनि आम नेपालीको कथा बोल्ने गीत साँच्चै कालजयी बनेको छ ।
४. ‘दशैं आयो’
चलचित्र ‘मुग्लान’मा समेटिएको लोकप्रिय दशैं गीत हो– ‘दशैं आयो…।’ शरद ऋतुको आभास गराउने मौसम अनि यो गीतको चित्रण साँच्चै लोभलाग्दो छ ।
वर्ष र दिनको रमाइलो चार्ड गाउँघरमा आइपुग्यो
नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो
हो, दशैंआयो…हो…. दशैं आयो…
शरद ऋतुको आगमन, परदेशिएका सन्तानको उपस्थिती अनि, अग्रज अभिभावकहरूको अनुहारमा देखिने खुसीका धर्साहरू साँच्चै वर्णनयोग्य लाग्छ । यही काममा सफल छ, गीत ‘दशैं आयो’ । ग्रामीण परिवेश र त्यही परिवेशभित्र मनाइने दशैंको रौनकता, शब्द, संगीत अनि दृष्यमा समेत हेर्न पाउनु गीतको लोकप्रियतासँग जोडिएको गहन पाटो हो ।
लोकनाथ सापकोटाको शब्द र संगीत तथा, उदित नारायण झा र दीपा झाको स्वर रहेको गीतमा बेंसीहरूमा झुलेका धानका बाला, बारीमा फूलिरहेका कोदोका बाला अनि निधारमा टीका र जमराको चमकताको गुणगान पस्कन सक्नु वास्तकिताको विम्ब हो । वास्तविक नेपाली परिवेश अनुकूल तयार यो गीत दशैंका लागि सदाबहार छ ।
‘कोदो फुल्यो बारीमा लरिलै, धानको बाला झुल्यो खेतैमा
कति राम्री देखिन्छौ बरिलै जमरा र रातो टीकैमा…’
५. रातो टीका निधारमा
पूरानो फिल्म अल्लारेमा समावेश ‘रातो टीका निधारमा…’ बोलको गीतले पनि दशैंको झल्को दिन्छ । सहदेव ढुंगानाको शब्द तथा शम्भुजित बाँसकोटाको संगीत रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको आवाज रहेको छ । पछिल्लो समय त यो गीतलाई प्रमोद खरेल र मेलिना राईका आवाजमा नयाँ भर्जनमा पनि सार्वजनिक गरिएको छ । नयाँ भर्जनको यो गीत चलचित्र ‘रातो टीका’मा पनि समावेश गरिएको थियो । जहाँ दशैंकै रौनकता अनि दशैंको भाव व्यक्त गरिएको छ ।
रातो टीका निधारमा टलक्क टल्कियो
छात्तीभित्र मायाको राँको सल्कियो
ए बिजुलीको तार तार…
६. ‘अहिलेको दशैंमा आमा घरमा आउँदिनँ…’
गायक बद्री पंगेनीको स्वर, राजु परियारको संगीत तथा भगवान भण्डारीको शब्द रहेको ‘अहिलेको दशैंमा आमा घरमा आउँदिनँ…’ बोलको गीतले पनि दशैंको भाव झल्काउँछ । विदेशिएका युवाहरूको कथा बोल्ने यो गीतले दशैंसँग जोडिएका केही बाध्यकारी विषयको उठान गरिदिएको छ । युवाहरू विदेशिनुको बाध्यता अनि दशैं जस्तो विशेष पर्वमा घर आउन नसक्नुको पीडा यो गीतले बोल्छ ।
बाध्य भइयो परदेशमा छिर्न,
आमा मैले पढ्दा लागेको ऋण तिर्न
आमा बिदा पाउँदिनँ
अहिलेको दशैंमा आमा, घरमा आउँदिनँ…
७. सुनिल गिरीको दशैं आयो
थालैभरि रातोरातो अक्षता र पाती
बाटैभरि नयाँ नौलो मानिसका ताँती
दशैं आयो,
फर्कियो लाहुरे गाउँघरको मायालाई सम्झेर…
शरद ऋतुको मौसम, ग्रामिण परिवेश अनि दशैंको रौनकता वर्णन गरिएको यो गीतले पनि दशैंको बहार बोकेर आउँछ । अर्कातर्फ लाहुरबाट आएको छोरो देखेर आँगनीको डिलमा आमाको हाँसो अनि तिहारको माहोल साँच्चै रोचक लाग्न सक्छ । सुनिल गिरीको शब्द संगीत तथा स्वरमा रहेको ‘दशैं आयो’ बोलको गीत पनि स्रोता माझ प्रिय छ ।
८. विछोडको पीडा नसकी खप्न…
स्वर सम्राट नारायण गोपाल र गायिका दिलमाया खातीको स्वरमा सजिएको अर्को दशैं बोध गराउने गीत हो–‘बिछोडको पीडा’ । गीतकार रत्नशमसेर राणाले रचना गरेको यो गीत नेपाली सदावहार गीतको सूचीमा समेत छ ।
‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा…’
गीतमा पारिवारिकरुपमा बिछोडिएको परदेशीले घर आउन गरेको वाचा प्रस्तुत गरिएको छ । स्वदेशमा दशैं मनाइरहँदा विदेशमा युवाको मनमा कस्तो मनोदशा चलिरहेको हुन्छ, यो विषय गीतले प्रस्तुत गरेको छ । तथापि, यो गीत दशैंभन्दा बढी जीवन साथीसँगको बिछोडको विलौना अर्थात् युगल प्रेमीको प्रेमभावको विम्बको रुपमा लिँदा न्याय हुने केही गीतकारहरूको तर्क छ ।
९. सुगमको ‘दशैं तिहार’
दशैंको समयमा बज्ने अर्को लोकप्रिय गीत हो सुगम पोखरेलको ‘दशैं तिहार ।’ पछिल्लो समय सार्वजनिक भएका गीतमध्ये सुगमको यो गीत दर्शक–स्रोतामाझ निकै प्रिय छ ।
‘वर्षमा दिनमा लै लै हर्षका दिन यी लै लै
दशैं तिहार चाड र बाड, खुसीले सारा भर्यो नि संसार’
गीतमा चाडपर्वको हर्ष र उमंगका साथ बाध्यताले विदेशमा बस्नु परेका युवाको वेदना पनि प्रस्तुत गरिएको छ । यसरी ‘फेस्टिभ’ रंगमा रवि श्रेष्ठले शब्दमार्फत् नेपालीमाझ दशैंतिहारको आभास दिलाएका छन् भने सुगम पोखरेलले गीतमा निकै लोभलाग्दो स्वर तथा संगीत भरेका छन् ।
अर्काको देशमा लै लै, सम्झना आको नि मैलाई
सयपत्री फुलेको आँगन, रातो अक्षता जमरा लगाई,
यता मेरो आँसुको धारा, उता होलान् रातै ती निधार…
०००
यीसँगै अन्य धरै मौलिक संस्कृति तथा सामाजिक र यथार्थ परिवेश बोकेका दशैं गीत बजारमा सुन्न पाइन्छ । दशैं विशेष गीतभन्दा बढी दशैं–तिहार जोडेर संयुक्तरुपमा धेरै गीत बन्ने परिपाटीका कारण यहाँ दशैंका लागि मात्र भनेर तयार गीत भने कम सुन्न पाइन्छ ।
यसमध्ये ‘फौजीलाई कुन हो दशैं कुन हो चार्ड तिहार…’, ‘घरदेश परदेश…’, ‘ दशैं आयो’…(उत्साह), ‘दशैं र तिहार’, ‘यसपालि त यस्तै भयो आमा…’, ‘दाइ त मेरो लाहुरै जाने…’ जस्ता गीतहरू पनि दर्शक स्रोतामाझ दशैंमा निकै लोकप्रिय छन् ।
प्रतिक्रिया