• २०८३ असार ३० | Tue, 14 Jul 2026

आज अक्षय तृतीया पर्व मनाइँदै

आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।

शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नुका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ ।

पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

आजकाे दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नास नहुने विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नास नहुने फल प्राप्त हुने हुँदा यस तिथीलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । आज यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ७, सोमबार ०१:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP