काठमाडौँ । इण्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर पठाए पनि नेपाल आयल निगमले भने खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै सञ्चालक समितिको निर्णयअनुसार भदौ ३१ गतेदेखि लागू हुने गरी साविककै मूल्य कायम राखिएको हो ।
भदौ ३० गते आइओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको थियो । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको छ ।
सञ्चालक समितिको निर्णयपछि अब पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य पहिलो वर्गका क्षेत्रमा प्रति लिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ नै कायम रहनेछ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल पर्छन् ।
यसैगरी आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर २४९ रुपैयाँ र काठमाडौँतर्फ अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर १ हजार ६९७ अमेरिकी डलर कायम छ । १४.२ किलोग्रामको एलपी ग्याँसको मूल्य प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् राखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर वृद्धि भइरहँदा पनि खुद्रा बिक्री मूल्य समायोजन नगरिँदा पाक्षिक १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने निगमले जनाएकाे छ ।
प्रतिक्रिया