• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

आजैबाट सिंहदरबारको सेवा, खरानी पुछेर प्रधानमन्त्रीलाई कुर्सी

आजैबाट सिंहदरबारको सेवा, खरानी पुछेर प्रधानमन्त्रीलाई कुर्सी

काठमाडौँ। आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएको सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको छ । आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयहरूको सरसफाइ र क्षतिको मूल्याङ्कनसँगै सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको हो ।

आइतबारदेखि सिंहदरबार पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले आइतबारदेखि सिंहदरबार लयमा फर्किने बताउनुभयो ।

जेनजी समूहको नाममा भदौ २४ गते भएको आगजनी र तोडफोडबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र निकायहरू क्षतिग्रस्त भएका थिए । अहिले तत्कालको आवश्यकता सिंहदरबारबाट जनतालाई प्रदान गरिने सेवा सुरु गर्नु रहेको बताउँदै उहाँले नयाँ सरकार गठनपछि सिंहदरबारमा भएको क्षतिको मूल्याङ्कन र लगत सङ्कलन गरी तत्कालीन र दीर्घकालीन पुनर्निर्माणको काम अगाडि बढाइने बताउनुभयो । उहाँका अनुसार तोडफोड र क्षति भएका संरचनाहरूकै मर्मतसम्भार गरी तत्काल सेवा सुरु गर्न काम अगाडि बढाइएको छ ।

अधिकांश सामाग्री खरानी भइसकेको अवस्थामा क्षतिको मुचुल्का उठाउने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । क्षति भएका सामग्रीहरू साना साना भएकाले त्यसको मुचुल्का उठाउन सम्भव नरहेको स्पष्ट पार्दै सहसचिव शर्माले बसेर काम गर्ने अवस्था भइसकेपछि क्षतिको लगत पनि सँगसँगै तयार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश सामग्री खरानी भइसकेका छन् । खरानीको के मुचुल्का गर्ने ?”

खरानी पुछेर प्रधानमन्त्रीलाई कुर्सी

सहसचिव शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय र अन्य निकायहरूको सञ्चालन पुरानै सामग्रीबाट गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ खरिदका काम केही हुन सकेको छैन । पुरानै सामग्रीलाई सरसफाइ गरी सेवा प्रवाह सुरु गर्नेमा लागेका छौँ ।”

सिंहदरबार परिसरमा निर्माण भएको गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गरिने बताउँदै उहाँले क्षतिग्रस्त प्रधानमन्त्रीको कार्यालयमा रहेका सामग्रीहरूबाट नै प्रधानमन्त्रीको नयाँ कार्यालय सञ्चालन गरिने जानकारी दिनुभयो । सहरी विकास तथा भवन विभागका अनुसार सिंहदरबारभित्र गृह मन्त्रालयको नयाँ भवन निर्माणको काम सम्पन्न भइसकेको छ ।याे समाचार हामीले गाेरखापत्रबाट लिएका हाैं

फाइल तस्बीर



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २९, आईतवार ०१:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP