काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलो पटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्न लागेकाे हाे ।
निगमका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ। निगमले हरेक हप्ता तीन वटा नियमित उडान भर्ने तालिका तय गरेको छ।
पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते, त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ। त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ। काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार तोकिएको निगमले जनाएको छ।
नेपाली ध्वजावाहक वायुसेवा निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । हाल नेपाल वायुसेवा निगमसँग रहेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका नयाँ दिल्ली, मुम्बई र बैङ्गलुरु, थाइल्याण्डको बैङ्कक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ ।
प्रतिक्रिया