ज्ञानमणि नेपाल कालोटोपी
बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियालाई थप सहभागितामूलक र सदस्यकेन्द्रित बनाउने उद्देश्यले बनेपा सेवा कार्यालय अन्तर्गतका सदस्य प्रतिनिधिहरूको सहभागितामा बजेट तथा कार्यक्रम सुझाव सङ्कलन भेला सम्पन्न भएको छ।
आइतबार संस्थाको मुख्य कार्यालयमा आयोजित उक्त कार्यक्रम संस्थाका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा उपसमितिका संयोजक भिमबहादुर खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन बनेपा सेवा कार्यालयका सचिव सोनु लामाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सेवा कार्यालयका संयोजक मोहन हुमागाईले व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले संस्थाको समष्टिगत प्रगति, प्राप्त उपलब्धि तथा सञ्चालन भइरहेका विभिन्न गतिविधिबारे जानकारी गराउनुभएको थियो। साथै, बनेपा सेवा कार्यालयका कार्यालय व्यवस्थापक मित्रप्रसाद दाहालले सेवा कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
७१ जना सदस्य प्रतिनिधिहरूको सहभागिता रहेको उक्त भेलामा सहभागीहरूले राख्नुभएका जिज्ञासा तथा सुझावहरूलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि. लामा स्याङ्तानले सम्बोधन गर्दै आवश्यक जानकारी प्रदान गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै संस्थाका सञ्चालक सदस्य तथा बजेट तथा कार्यक्रम तर्जुमा उपसमितिका सदस्य गणेशप्रसाद पराजुलीले सदस्यहरूबाट प्राप्त महत्वपूर्ण सुझावहरूलाई संस्थाको आगामी योजना तथा कार्यक्रम निर्माण प्रक्रियामा समेटिने विश्वास व्यक्त गर्नुभयो । उहाँले सदस्यहरूको सक्रिय सहभागिता र संस्थाप्रतिको प्रतिबद्धताप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।
सदस्य प्रतिनिधिहरूको उत्साहजनक सहभागितासहित सम्पन्न भएको उक्त भेला संस्थाको आगामी बजेट तथा कार्यक्रमलाई अझ प्रभावकारी, व्यवहारिक तथा सदस्यमैत्री बनाउन महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया