काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई फेरि पनि लाेकतान्त्रिक विधि र पद्धतिमा ल्याउने दाबी गरेका छन् । हल्लाबाजहरुलाई देश छोड्न नसकिने बताउँदै उनले हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश नभाग्ने बताए ।
शनिबार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले देश सबै नेपालीहरू मिलेर बनाउनुपर्ने बताए । देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याएरै छोड्ने प्रतिबद्धता जनाउँदै उनले सरकार सुरक्षा दिनका लागि बसेको हो की होइन भन्दै प्रश्न पनि गरे ।
जेनजी आन्दोलनपछि चर्काे आलोचनाको सामना गरिरहेका ओलीले आफूले गोली चलाउन कुनै आदेश नदिएको प्रष्ट पारे । आफू देशमा रक्तपात रोक्ने पक्षमा रहे पनि गलत प्रचार गरेर दोषारोपण गरिएको ओलीकाे दाबी थियाे । उनले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सरकारले गठन गरेको आयोगको प्रतिवेदन आउनु जरुरी रहेको बताए ।
पछिल्ला परिस्थितीमा आफू नेतृत्वकाे सरकार कुनै दाेषी नरहेकाे आशय व्यक्त गर्दै उनले भने “ म आन्दोलनमा क्षति नहोस् भन्ने चाहन्थेँ। गोली चलेको सुनेपछि कसरी परिस्थिती त्यहाँ पुग्यो भनेर सोधेको थिएँ। १६ जनाको मृत्यु भइसकेको सुन्दा म स्तब्ध भएँ। सुरक्षाकर्मीले त खुट्टा मुनि गोली हान्ने हो, तर टाउकाेमा लागेको रहेछ। यस्तो किन भइरहेको छ भनेर सोधिरहेकै छु।”
अहिलेकाे सरकारप्रति पूरै आक्रामकरुपमा प्रस्तुत भएका ओलीले दलहरु र आफ्ना कमजाेरीहरु भएकाेमा भने कुनै प्रतिक्रिया दिएनन् ।
Facebook VideoLoading video...
प्रतिक्रिया