काठमाडौं । दशैंको घटस्थापनादेखि आजसम्मको अवधिमा ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापना शुरू भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौंबाट बाहिरिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका छन् । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगातीलगायतका नाकामा यात्रुको भीड देखिएको छ ।
दशैं शुरू भएसँगै काठमाडौं उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्ररुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालय काठमाडाैंले जनाएकाे छ ।
घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या एक लाख १३ हजार ४१५ पुगेको छ । काठमाडौं उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट तीन लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया