काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न क्षेत्रमा तीव्र वर्षा, बाढी, पहिरो र चट्याङको जोखिम बढेको अवस्थामा उपभोक्तालाई सतर्क रहन आग्रह गरेको छ।
कुनै क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आए तुरुन्तै ११५० नम्बरमा सम्पर्क गर्न पनि प्राधिकरणकाे आग्रह छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विद्युतीय संरचनामा क्षति पुग्न नदिन, सुरक्षित स्थानमा रहन र आकस्मिक अवस्थामा बाहेक बाहिर ननिस्कन सबैमा अनुरोध गरिएको छ। विद्युत अवरुद्ध भएमा वा संरचनामा क्षति पुगेमा तुरुन्तै ११५० हटलाइन वा स्थानीय नो-लाईट नम्बरमा सम्पर्क गरी जानकारी दिनुहोस्।”
जल तथा मौसम विज्ञान विभागले आजदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र विपद्को सम्भावना रहेको चेतावनी जारी गरेपछि प्राधिकरणले शनिबार विज्ञप्ति जारी गर्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।
प्राधिकरणले प्रतिकूल मौसमका कारण सेवा अवरुद्ध भए पनि मर्मत तथा पुनः सञ्चालनका लागि सम्बन्धित कर्मचारीहरू तयारी अवस्थामा राखिएको जनाएको छ।

प्रतिक्रिया