काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु गरेका छन्। भदौ २४ गतेको ध्वंससँगै आक्रमणमा परेका कांग्रेस सभापति देउवा पहिलो पटक मंगलबार केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका हुन्।
भदौ २४ गतेपछिको विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाइएको बैठकमा सहभागी हुन सानेपा पुगेका देउवाले पार्टी नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको स्पष्ट सन्देश दिएका छन्।
३५ दिनपछि पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका देउवाले आठ बुँदामा १३ पृष्ठ लामो भावपूर्ण मन्तव्य दिँदै आफ्नो स्वास्थ्यका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निधोमा पुगेको बताए।
आफ्नो जटिल स्वास्थ्य अवस्था रहेको जानकारी केन्द्रीय समितिलाई गराएका देउवा छिट्टै थप उपचारका लागि विदेश जाने तयारीमा छन्। पार्टीभित्र नेतृत्व हस्तान्तरण तथा महाधिवेशनका विषयमा तीव्र बहस र विवाद चलिरहेका बेला देउवाले आफूले यसअघि नै नेतृत्व हस्तान्तरण गर्ने बताइसकेको स्मरण गरे। पार्टी विधानले पनि आफूलाई पुनः सभापति बन्न नदिने र उमेरले समेत नदिने भनेर उनले सम्झाएका थिए।
भदौ २३ र २४ को अवस्था आउनुअघि असार १३ गते कांग्रेस नेतृ गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा चितवन पुगेका देउवाले आफू पार्टीको सक्रिय राजनीतिबाट ‘रिटायर्ड’ हुन लागेको बताएका थिए। त्यसअघि नेतृत्व हस्तान्तरणका विषयमा मुख नखोल्दा कतै देउवाले विधान नै संशोधन गरेर फेरि उम्मेदवार बन्ने त होइन भन्ने आशंका पार्टीकै नेताहरूले गर्दै आएका थिए।
त्यसलाई चिर्दै देउवाले आफू नेतृत्व हस्तान्तरणको चरणमा रहेका जनाउँदै नेताहरूलाई पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन मिलेर अघि बढ्न आह्वान गरेका थिए । तर नेतृत्व कहिले हस्तान्तरण गर्छन् भनेर कांग्रेसमा अन्योल थियो। पार्टीको विधानले चार वर्ष कार्यकाल रहे पनि देउवाले विधानका अन्य छिद्रहरूलाई टेकेर कार्यकाल लम्ब्याउन खोजेको आशंका व्यक्त गर्दै शेखर कोइरालासहितका नेताहरूले महाधिवेशनका लागि एक वर्ष अघिदेखि नै दबाब बढाउँदै लगेका थिए।आजकाे नागरिक दैनिकबाट
प्रतिक्रिया