• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

देशभरका नर्सहरु आन्दोलनमा, पारिश्रमिक बृद्धिको माग

देशभरका नर्सहरु आन्दोलनमा, पारिश्रमिक बृद्धिको माग

काठमाडौँ। देशभरका नर्स पारिश्रमिक बृद्धिको माग गर्दै आन्दोलनरत छन् । आन्दोलनरत उनीहरुले बुधबार दुई घण्टा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् ।

माग सम्बोधन नभए बिहीबारदेखि आन्दोलन थप सशक्त बनाउने उनीहरूले बताएका छन् । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नर्सको आन्दोलन एक/दुई दिनभित्र समाधान भइसक्ने जानकारी गराउनुभयो । “सम्भवतः बिहीबारसम्ममा निष्कर्षमा पुग्न सकिन्छ,” मन्त्री शर्माले भन्नुभयो, “सबै पक्षको छलफलपछि एउटा विन्दुमा पुगिसकेका छौँ ।”

उहाँले नर्सका जायज माग पूरा गराउन आफू प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । मन्त्री शर्माले नेपालमा अत्यन्त कम पारिश्रमिकमा काम गर्नुपरेको यथार्थ दृष्टिगत गर्दै तलब बढाउन सकिने बताउनुभयो । कतिपय अस्पतालले नर्सको तलब सरकारीसरह पुर्‍याइसकेका छन् । ग्रान्डी, नर्भिकजस्ता अस्पतालले सरकारीसरह पारिश्रमिक पुर्‍याएका छन् ।

नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सको आन्दोलन नरोकिने जानकारी दिँदै सरकार, निजी मेडिकल कलेज र निजी अस्पतालसँगको छलफल सकारात्मक रहेको बताउनुभयो । पारिश्रमिक वृद्धि नगरी आन्दोलन नरोक्ने उहाँको भनाइ छ ।

बुधबारबाट सरकारी अस्पतालका नर्ससमेत आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नर्सका मागमा एउटा विन्दुमा पुगिसकेको जानकारी दिँदै बिहीबारसम्ममा टुङ्गो लगाइने बताउनुभयो ।

निजी अस्पतालको संस्था अफिनका अध्यक्ष डा. पदम खड्काले अस्पतालको वर्गीकरण गरेर तलब तोकिनुपर्ने जानकारी दिनुभयो । उहाँले सबै अस्पताललाई एउटै डालोभित्र हालेर हेर्न नहुने भन्दै काठमाडौँका चलेका अस्पताल र उपत्यकाबाहिरका अस्पताल तुलना गर्न नसकिने बताउनुभयो ।

यसैबीच निजी स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले उठाएका मागको समर्थनमा स्वास्थ्य क्षेत्रका ट्रेड युनियन र पेसागत सङ्घ संस्थाको संयुक्त सञ्जालले ऐक्यबद्धता जनाएको छ । गोरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १३, बिहीबार ०१:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP