काठमाडौं । देशका विभिन्न भागमा गत असोज महिनामा भएका सवारी साधन दुर्घटनामा २४७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार २ हजार ७५७ वटा सवारी साधन दुर्घटना भएका थिए । दुर्घटनामा संलग्न सवारी साधनको संख्या भने ३ हजार ९४७ रहेको छ । जसमा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारी साधन रहेको प्रहरीले जनाएको छ ।
२ हजार ४६७ वटा मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका थिए । १२५ वटा बस र ५५५ वटा कार, जीप दुर्घटना परेको तथ्यांक छ । एक महिनामा १४९ वटा ट्रक, टिपर, ६५ वटा ट्याक्टर, २६८ वटा रिक्सा, ३२५ वटा टेम्पो, ५ वटा डोजर, स्काभेटर र १८ वटा सवारी साधन नखुलेका दुर्घटना भएका छन् ।
जसमा २४७ जनाको मृत्यु हुँदा ४ हजार ३७ सामान्य घाइते र ८४८ जना गम्भीर घाइते भएका तथ्यांक छ । मृत्यु हुनेमा १८६ पुरुष तथा ६१ जना महिला रहेका छन्, जसमा १२ जना बालबालिका रहेका छन् ।
अधिकांश दुर्घटनाहरु तिब्रगतिमा सवारी चलाउँदा भएका छन् । यसबाट १ हजार ५३८ वटा दुर्घटना भएका छन् । यस्तै चालकको असक्षमताका कारण पनि धेरै दुर्घटना हुने गरेका प्रहरीको तथ्यांकले देखाएको छ । यसबीचमा २०७ वटा दुर्घटना मापसेका कारण भएको छ । हतारमा बाटो काट्दा र अनावश्यक ओभरटेक गर्दा पनि दुर्घटनाहरु भएका छन् ।

असोजमा बिहान ६ बजेदेखि १२ बजेसम्मको समयमा १९.७३ (५४४ वटा) प्रतिशत दुर्घटना भएका थिए । यस्तै दिउँसो १२ देखि साँझ ६ बजेसम्म ३६.६० (१,००९ वटा), साँझ ६ बजेदेखि राति १२ बजेसम्म ३७.६९ प्रतिशत (१,०३९ वटा), राति १२ बजेदेखि बिहान ६ बजेसम्म ५.९५ (१६४ वटा) र समय नखुलेका ०.०४ प्रतिशत (१ वटा) दुर्घटनाहरु भएका प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
एक महिनामा ३३ हजार २२६ वटा सवारी साधन कारबाहीमा परेका छन् । जसबाट ३ करोड १३ लाख ७३ हजार ५०९ राजस्व संकलन भएको प्रहरीको तथ्यांक छ ।
प्रतिक्रिया