• २०८३ असार ३१ | Wed, 15 Jul 2026

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी-२०८२ भैरहवामा सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी-२०८२ भैरहवामा सम्पन्न

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ ।

नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्तरूपमा गोष्ठी आयोजना गरिएको हो । साे अवसरमा गृहमन्त्री अर्यालले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीले प्रदेशको शान्ति सुरक्षाको स्थिती विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरूलाई सम्बोधन गर्दै प्रदेशमा शान्ति सुरक्षाको स्थितीलाई पूर्णरूपले सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राजश्व चुहावट नियन्त्रणमा शुन्य सहनशीलताको नीति अबलम्बन गरी व्यवसायिक ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै आसन्न चुनावलाई निष्पक्ष र शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रदेशमा देखिएका सुरक्षा चुनौतीहरूको पहिचान गरी उपयुक्त रणनीतिको तर्जुमा गर्दै ती चुनौतीहरूको सम्बोधन गर्न तथा एकीकृत र समन्वयात्मकरूपमा काम गर्नको लागि आयोजना गरिएको यस गोष्ठी महत्वपूर्ण र उपलब्धिमुलक भएको बताउनुभयो ।

सीमा अपराध, साइबर अपराध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना र विपद्जन्य घटनाहरू लगायत विभिन्न सामाजिक अपराधहरू चुनौतीको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतीहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्न सचेतना, समायानुकुल प्रविधिको विकास, स्रोतसाधन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य गरी प्रदेशको समग्र सुरक्षा व्यवस्था मजबुत पार्न तथा आसन्न निर्वाचनलाई लक्षित गरी प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा नेपाली सेनाका रथी प्रदीपजंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो ।

गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।

गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्यसहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ९, मंगलवार १३:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP