• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मेलम्ची–फट्टे पुल पुनर्निर्माणतर्फ ठोस पहल, स्थलगत अवलोकनमा नगरप्रमुख तामाङ

मेलम्ची–फट्टे पुल पुनर्निर्माणतर्फ ठोस पहल, स्थलगत अवलोकनमा नगरप्रमुख तामाङ

सिन्धुपाल्चाेक । २०७८ सालको विनाशकारी बाढीले बगाएको मेलम्ची–फट्टे–दुवाचौर पक्की मोटरेबल पुल पुनर्निर्माणका लागि ठोस पहल सुरु भएको छ। सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पुल निर्माण प्रस्तावितस्थलको स्थलगत अवलोकन गर्दै पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढाइने बताउनु भयो।

अवलोकनका क्रममा नगरप्रमुख तामाङले फट्टे पुल केवल एउटा भौतिक संरचना मात्र नभई स्थानीय जनजीवन, आवागमन, शिक्षा, स्वास्थ्य सेवा तथा आर्थिक गतिविधिसँग प्रत्यक्षरूपमा जोडिएको अत्यावश्यक पूर्वाधार भएको उल्लेख गर्नुभयो।

२०७८ को बाढीपछि स्थानीयवासीले भोग्दै आएको कठिनाइ अब धेरै समय सह्य नहुने बताउँदै उहाँले पुल निर्माणमा थप ढिलाइ हुनु भनेको जनताको दैनिक जीवन झन् कष्टकर बनाउनुसरह हुने धारणा व्यक्त गर्नुभयो।

जोखिमयुक्त भूगोललाई मध्यनजर गर्दै दिगो, सुरक्षित र दीर्घकालीन समाधान दिने खालको पुल निर्माण आवश्यक रहेकोमा जोड दिँदै नगरप्रमुख तामाङले संघीय, प्रदेश र स्थानीय सरकारबीचको प्रभावकारी समन्वय र सहकार्यबाट मात्र यस्तो ठूला पूर्वाधार परियोजना समयमै सम्पन्न गर्न सकिने बताउनुभयो ।

त्यस्तै, मेलम्ची नगरपालिका वडा नं. ८ का वडाध्यक्ष जितबहादुर दोङ्गले पुल निर्माण प्रक्रियाले गति लिनु सकारात्मक संकेत भएको बताउँदै शीघ्र निर्माण कार्य सुरु हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले पुल निर्माणपछि बाढीपछिको पीडाबाट स्थानीयवासी मुक्त हुने, सुरक्षित आवागमन सुनिश्चित हुने र स्थानीय विकासको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आवश्यक समन्वय भएमा स्थानीयवासीबाट सहजीकरण र सहयोगमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धतासमेत जनाउनुभयो।

नगरप्रमुख तामाङको निरन्तर पहल तथा बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय कृष्णकुमार तामाङको सक्रियताका कारण प्रदेश सरकारले पुल निर्माणप्रति चासो देखाएको हो। यसैक्रममा प्रदेश सरकारका प्राविधिक टोलीले स्थलगत अध्ययन गर्दै सम्भावित डिजाइन, लागत अनुमान र प्रयोग हुने प्रविधिबारे प्रारम्भिक छलफलसमेत गरेको थियो।

स्थलगत अवलोकन कार्यक्रममा नगरप्रमुख आइतमान तामाङसहित प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा अध्यक्षहरू जितबहादुर तामाङ र गणेश तामाङ, बागमती प्रदेश सरकारका प्राविधिक तथा मेलम्ची नगरपालिकाका प्राविधिकहरूको सहभागिता रहेको थियो।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १, मंगलवार १२:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP