काठमाडौँ। आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो । यसअघि निर्वाचन आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो ।
सोही अनुसार केन्द्रले मतपत्र छपाइका लागि चार वटा अत्याधुनिक छापाखाना र २५० जना जनशक्तिसमेत तयारी अवस्थामा राखिसकेको छ । साथै मतपत्र छपाइका लागि आवश्यक कागज, मसीलगायत मेसिनका लागि चाहिने अन्य पार्टपूर्जाको पनि केन्द्रले जोहो गरिसकेको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार मतपत्र छाप्ने विषयमा आइतबार पनि निर्वाचन आयोगसँग छलफल भएको थियो । पौडेलका अनुसार आयोगले निर्देशन दिनेबित्तिकै छपाइको काम सुरु हुनेछ । केन्द्रले अहिलेको जनशक्ति, छपाइ मेसिन र वार्षिक कार्ययोजनालाई असर नपर्ने गरी काम गर्न कम्तीमा पनि पुस १६ गतेबाट छपाइको कार्य सुरु गर्ने गरी कार्ययोजना बनाउन आयोगलाई अनुरोध गरेको छ ।
केही दिन अगाडिकै समय राखेर काम गर्दा छपाइ मेसिनमा अकस्मात कुनै समस्या आइहालेमा पनि मर्मत गरेर काम गर्न सहज होस् भन्ने चाहना केन्द्रको छ । आयोगले पनि औपचारिक निर्णय नगरे पनि यही मितिको आसपासबाट मतपत्र छाप्ने विषयमा सकारात्मक देखिएको पौडेलले बताउनुभयो ।
पहिलो चरणमा समानुपातिकतर्फको मतपत्र छपाइ गरिनेछ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन आयोगमा ९३ वटा दलले संयुक्त र एक्लाएक्लै निवेदन दिएका छन् । विगतका निर्वाचनलाई हेर्दा प्रतिनिधि सभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ करिब चार करोड थान मतपत्र छाप्नुपर्ने आँकलन केन्द्र र आयोगले गरेका छन् । यसरी हिसाब गर्दा समानुपातिकका लागि डेढ करोडदेखि दुई करोड थानसम्म मतपत्र छाप्नुपर्ने हुन्छ ।
केन्द्रका प्रबन्ध सञ्चालक पौडेलका अनुसार समानुपातिकको मतपत्र छपाइका लागि २९ दिनको कार्यतालिका बनाइसकिएको र निर्वाचन आयोगको औपचारिक पत्र आउनासाथ काम सुरु गरिने छ । समानुपातिकको मतपत्र छापिसक्दा प्रत्यक्षतर्फको पनि छाप्ने बेला हुने र सोही अनुसार गर्ने योजना बनाइएको छ । गाेरखापत्रबाट
प्रतिक्रिया