काठमाडौँ। ‘जेन जी’को आन्दोलनपछि उत्पन्न राजनीतिक अन्योललाई निकास दिन अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख बनाउने सहमति भएको बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो सरकारी निवासमा प्रधानसेनापति अशोकराज सिग्देलसहितको उपस्थितीमा कार्कीसँगको छलफलपछि बिहीबार मध्यरातपछि उक्त निर्णयमा पुगेको विवरण समाचारहरूमा जनाइएको छ।
यद्यपी हालसम्म यस निर्णयको स्वतन्त्र पुष्टि हुन सकेको छैन। सहमति भएको भनिए पनि शुक्रबार बिहान ६ बजेसम्म औपचारिक जानकारी गराइएको छैन। उक्त निर्णयअनुसार देश अघि बढेमा पहिलो प्रधानन्यायाधीश कार्कीलाई नेपालकाे पहिलो महिला सरकार प्रमुख बन्ने अवसर प्राप्त हुने भएको छ।
‘जेन जी’को एक समूहद्वारा सिफारिस कार्कीलाई काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन गरेका छन्। गैरसांसद कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति तयार भए पनि नियुक्ति प्रक्रिया र संसद विघटनको विषयलाई लिएर बहस र छलफल चलेकाले बिहानसम्म पनि सहमतिको टुङ्गो लाग्न नसकेको बुझिएको छ।
उक्त छलफलमा बस्नुअघि राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग पनि परामर्श गरेका थिए। त्यसअघि अन्य नेताहरूसँग पनि छलफल गरेको बताइएको छ। तर दोस्रो जनआन्दोलनको सफलतापछि दुई दशकसम्म सत्तामा बलियो पकड जमाएका प्रमुख दलहरूको वैधानिक वा प्रत्यक्ष संलग्नताबिना प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढेको देखिन्छ।
सेना राजनीतिमा हाबी हुन थालेको र गैरसंवैधानिक बाटोमा देश जान लागेको सरोकार र चिन्ताबीच बिहीबार राष्ट्रपतिको ‘लेटरप्याड’मा ‘छिटोभन्दा छिटो समस्या निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमपूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न’ अपील सार्वजनिक भएको थियो। सन्देशमा ‘संवैधानिक दायरा’ भित्रैबाट निकास दिन र ‘लोकतन्त्र संरक्षण’ को प्रयास गरिरहेको उल्लेख छ। याे समाचार हामीले बीबीसीबाट लिएका हाैं।
प्रतिक्रिया