काठमाडौँ । एक वर्षमा ३७ हजार २६ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन्।
आर्थिक वर्ष २०८१/०८२ मा आयोगको केन्द्रीय कार्यालय र माताहत कार्यालयमा दर्ता भएका २८ हजार ५५४ वटा र त्यसअघिको आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका आठ हजार ४७२ वटा गरी जम्मा ३७ हजार २६ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ।
तीमध्ये सबैभन्दा बढी अर्थात् १० हजार २४५ वटा (२७.६७ प्रतिशत) उजुरी आयोगको वेबसाइट प्रयोग गरी अनलाइनबाट प्राप्त भएका छन्।
त्यसपछि क्रमशः लिखित निवेदन, इमेल, हुलाक सेवा, टेलिफोन, सामाजिक सञ्जाललगायतका माध्यमहरूबाट बढी उजुरी प्राप्त भएका आयोगको प्रतिवेदनमा उल्लेख छ। आयोगले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१/०८२ को ३५औं वार्षिक प्रतिवेदन पेस गरेको थियाे ।
प्रतिक्रिया