पर्सा । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा वीरगञ्ज नाका हुँदै २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो ।
गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएकाे छ । आयात बढेसँगै एक अर्ब २९ करोड बढी राजस्वसमेत सङ्कलन भएको छ ।
गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले नौ अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड सङ्कलन गरेको छ।
दुई महिनामा ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा पाँच अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ भने ६ अर्ब ८२ करोडको ८० हजार पाँच सय ६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले चार अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको छ । पाँच अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्याँस आयात हुँदा ९६ करोड राजस्व सङ्कलन भएको छ।
प्रतिक्रिया