काठमाडौँ । नेपाल प्रहरीले १ हजार ५९४ जनाका लागि नयाँ भर्ना खुल्ला गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।
जसअनुसार प्रहरी जवान पदमा १ हजार ५५३ जना, कार्यालय सहयोगीका रूपमा हजाम ११ जना, कुचीकार १५ जना र खेलकुदतर्फ १५ जना गरी कुल १ हजार ५९४ जनाका लागि दरखास्त माग गरिएको छ।
इच्छुक र योग्य नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त दिन सकिनेछ। प्रहरी जवान पदका लागि न्यूनतम शैक्षिक योग्यता आठ कक्षा उत्तीर्ण हुनुपर्नेछ । कार्यालय सहयोगीका लागि साधारण लेखपढ जान्न सक्ने हुनुपर्ने योग्यता तोकिएको छ।
जवान, हजाम र कुचीकार पदका लागि दरखास्त सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रहरी परिसरहरूमा बुझाउन सकिनेछ। खेलाडी पदका लागि भने काठमाडौँस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा दरखास्त दिनुपर्नेछ।
दरखास्त दस्तुर जनपद (जवान) तर्फ तीन सय रूपैयाँ र एकभन्दा बढी समूहमा आवेदन दिएको खण्डमा प्रति समूह ६० रूपैयाँ थप लाग्नेछ। खेलाडीतर्फ दस्तुर दुई सय रूपैयाँ तोकिएको छ भने थप समूहका लागि ४० रूपैयाँ अतिरिक्त शुल्क लाग्नेछ।
प्रतिक्रिया