काठमाडौँ । असोज २० गतेसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएको र त्यसबाट उत्पन्न हुनसक्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा गैरसरकारी संस्थाहरुको भूमिका सम्बन्धमा विपद् संवाद गरिएको छ।
भर्चुअल माध्यमबाट गरिएको विपद् संवादका प्रमुख अतिथि गृहसचिव रामेश्वर दंगालले सम्भावित विपद् व्यवस्थापनका लागि राज्यका तर्फबाट गरिने पहलका लागि आवश्यक छलफल, निर्देशन एवं कतिपय राजमार्गहरुमा सवारी आवागनमा ‘mandatory enforcement’ समेत गरिएको जानकारी दिनुभयो।
सचिव दंगालले राजनीतिक तरलता र अनिश्चयको अवस्थामा विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न गैरसरकारी क्षेत्रको ठूलो भूमिका भएकाले विपद्का सन्दर्भमा आफ्नो भूमिका पहिचान गरेर योगदान गर्न आग्रह गर्नुभयो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका महासंघ तथा नेटवर्कका प्रमुख एवं पदाधिकारी र विज्ञहरुले आ-आफ्नो संगठनका तर्फबाट गरिरएको पूर्वतयारी एवं उद्धार तथा राहत क्षमताका बारेमा जानकारी दिंदै मौसम र नदीको स्थितीअनुसार संक्षिप्त एवं स्पष्ट सूचना प्रवाह गरिनुपर्ने लगायतका सुझाव दिनुभयो।
विपद् संवादका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले सम्भावित विपद्लाई ध्यानमा राखेर हेलिकोप्टर, ड्रोन, डुंगासम्बन्धी संघ-संस्था तथा निजी क्षेत्रसँग समझदारी गरिएको जानकारी दिंदै विपद्को अवस्थामा उहाँहरुको सहयोग प्राप्त हुने बताउनुभयो। कार्यकारी प्रमुख भट्टले पूर्वानुमानसम्बन्धी अद्यावधिक जानकारीलाई यथाशक्य छिटो र बुझिने गरी समुदायसम्म सम्प्रेषण गरिने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सबै नेटवर्कहरुलाई सक्रिय बनाउन गैरसरकारी क्षेत्रलाई आग्रह गर्नुभयो।
संवादमा जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् विनोद पराजुली र मौसमविद् विनु महर्जनले असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र असोज १९ गते कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो। कार्यक्रमको संयोजन विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको सचिवालय डिपिनेटका अध्यक्ष डा.राजु थापाले गर्नुभएको हो।
प्रतिक्रिया