काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को सुरुवाती तीन महिनामा बजेट खर्च १८ प्रतिशत गरेको छ । महालेखा नियन्त्रक कार्यालयले जनाए अनुसार असोज मसान्तसम्ममा तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख खर्च भएकाे हाे । याे भनेकाे वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च हो ।
सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो । कार्यालयका अनुसार असोज मसान्तसम्ममा चालुतर्फ वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत अर्थात् दुई खर्ब ५६ अर्ब ८० करोड ६० लाख खर्च भएको छ।
यस्तै, पुँजीगत शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव सात प्रतिशत अर्थात् १९ अर्ब १८ करोड ३४ लाख र वित्तीय व्यवस्थामा २३ दशमलव ६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड बराबर खर्च भएको छ ।
यही अवधिमा सरकारले राजस्व सङ्कलन वार्षिक लक्ष्यको १६ दशमलव ५१ प्रतिशत गरेकाे जनाएकाे छ । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकामा हालसम्म दुई खर्ब ५३ अर्ब १८ करोड ७९ असुली भएको हो ।
आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब उठाउने सरकारी लक्ष्य रहेकामा असोज मसान्तसम्ममा वार्षिक लक्ष्यको १६ दशमलव ८३ प्रतिशत अर्थात् दुई खर्ब ४९ अर्ब पाँच करोड १४ लाख असुली भएको छ। यसैगरी ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य रहेकामा हालसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् दुई अर्ब ७२ लाख प्राप्ति भएको छ ।
प्रतिक्रिया